|
3,905 SHARES |
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष ज्यानी इन्फान्टिनोले प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजनाका विषयमा आफ्नो तर्फबाट प्रक्रियागत गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्। यद्यपि उनले अध्यक्ष पदबाट राजीनामा नदिने र आफ्नो कार्यकाल निरन्तर अघि बढाउने स्पष्ट गरेका छन्।
मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बसेको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले गल्ती स्वीकार गरेका हुन्। बैठक सम्पन्न भएको चार घण्टापछि फिफाले विज्ञप्ति जारी गर्दै व्यवस्थापन बोर्डका उच्च अधिकारीहरूले इन्फान्टिनोको नेतृत्वप्रति पूर्ण समर्थन कायम रहेको जनाएको छ।
प्रतियोगितामा निजी लगानी भित्र्याउने उद्देश्यले अघि सारिएको फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) प्रस्तावलाई पारदर्शी नभएको भन्दै युरोपेली फुटबल महासंघ ९युइएफए०ले इन्फान्टिनोमाथिको विश्वास गुमेको सार्वजनिक गरेको थियो। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले पनि घटनाक्रमलाई दुःखद र निन्दनीय भन्दै आलोचना गरेका थिए।
तर आकस्मिक बैठकपछि महासचिव ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले इन्फान्टिनोप्रति पुनः विश्वास व्यक्त गरेका छन्। इन्फान्टिनो र ग्राफस्ट्रोमले संयुक्त रूपमा फिफाका उपाध्यक्ष, काउन्सिल सदस्य तथा २११ सदस्य राष्ट्रका फुटबल संघलाई पत्र पठाउँदै प्रक्रियागत त्रुटिप्रति क्षमायाचना गरेका छन्। साथै, भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन्।
इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावलाई समर्थन गर्ने प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने आश्वासन दिएका थिए। तर उक्त प्रस्ताव फिफा काउन्सिल र सदस्य संघलाई पर्याप्त जानकारी नदिई अघि बढाइएको भन्दै व्यापक असन्तोष चुलिएको थियो।
यसैबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इन्फान्टिनोप्रति आफूलाई विश्वास नरहेको बताएका छन् भने पूर्वपोर्चुगिज स्टार फुटबलर लुइस फिगोले उनको तत्काल राजीनामा माग गरेका छन्। विवादका बाबजुद ५६ वर्षीय इन्फान्टिनो भने सन् २०२७ को मार्चमा मोरक्कोमा हुने फिफा अध्यक्षको निर्वाचनमा चौथो कार्यकालका लागि उम्मेदवारी दिने तयारीमा रहेका छन्।










