|
4,207 SHARES |
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री धवल शमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं ले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ गठन गरेका छन्।
बुधबार बसेको बैठकले पार्टीको नाम, नेतृत्व तथा संगठनात्मक संरचनाबारे टुंगो लगाएको हो। सहमतिअनुसार पार्टीको अध्यक्षमा धवल शमशेर राणा रहनेछन् भने दुर्गा प्रसाईं ‘सर्वोच्च नेता’को भूमिकामा रहनेछन्।
नयाँ दल दर्ताका लागि उनीहरू आगामी साउन २८ गते निर्वाचन आयोग जाने तयारीमा छन्। सोही दिन पार्टीको औपचारिक घोषणा गर्दै दर्ताका लागि निवेदन दिने कार्यक्रम तय गरिएको छ। पार्टीको चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहे पनि अन्तिम निर्णय भइसकेको छैन।
नवनिर्मित ‘जय नेपाल पार्टी’ले संवैधानिक राजतन्त्र र सनातन धर्मलाई आफ्नो प्रमुख वैचारिक आधार बनाउने जनाएको छ। साथै आफूलाई ‘प्रजातान्त्रिक राष्ट्रवादी शक्ति’का रूपमा स्थापित गर्ने लक्ष्य पार्टीले लिएको बताइएको छ।
राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय रहँदै आएका राणा र प्रसाईं यसअघि पनि विभिन्न आन्दोलनमा सहकार्य गर्दै आएका थिए। राणाले गत जेठ १७ गते राप्रपा परित्याग गरेका थिए भने जेठ २२ गते दुवैबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको थियो।
यसअघि २०८१ चैत १५ गते काठमाडौंमा भएको राजसंस्था पुनर्स्थापनासम्बन्धी आन्दोलनमा पनि उनीहरू एउटै मोर्चामा सक्रिय थिए। त्यसबेला प्रसाईं आन्दोलनका कमान्डर तथा राणा आन्दोलन परिचालन समितिका संयोजक रहेका थिए। राप्रपाभित्रको असन्तुष्टि र प्रसाईं नेतृत्वको अभियानलाई एकीकृत गर्दै उनीहरूले नयाँ राजनीतिक यात्राको घोषणा गर्न लागेका हुन्।










