|
4,280 SHARES |
झापा । कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवाले सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। कार्यालयले लामो समयदेखि विवरण नबुझाई निष्क्रिय रहेका सहकारी संस्थालाई पटक–पटक अद्यावधिक हुन आग्रह गरे पनि अटेर गरेपछि प्रदेश सहकारी ऐन, २०७६ को दफा ५३ को उपदफा (३) बमोजिम दर्ता खारेज गरिएको जनाएको हो।
प्रदेश सहकारी रजिस्ट्रार भूपेन्द्र खनालका अनुसार निष्क्रिय रहेका संस्थालाई २०८२ असोज २ गते ३५ दिने र २०८२ पुस २ गते २१ दिने सूचना प्रकाशित गरी अद्यावधिक हुन आग्रह गरिएको थियो। त्यसपछि पनि कानुनी प्रक्रिया पूरा नगरेपछि २०८३ असार ३ गते थप १५ दिनभित्र सफाइ पेस गर्न अवसर दिइएको थियो। तोकिएको अवधिमा पनि कुनै सफाइ पेस नगरेकाले २०८३ असार ३२ गतेको निर्णयअनुसार सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको उहाँले जानकारी दिनुभयो।
दर्ता खारेज गरिएका संस्थामा मोरङको बेलबारी–११ स्थित कोशेली बचत तथा ऋण सहकारी संस्था, साविक मिर्गौलिया–५ स्थित नवजागरण बहुउद्देश्यीय सहकारी संस्था, सुनसरीको दुहबी–२ स्थित निकुञ्ज कृषि सहकारी संस्था, दुहबी–४ स्थित आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था, इटहरी–१९ स्थित जल्दी महिला कृषक बचत तथा ऋण सहकारी संस्था, इटहरी–१६ स्थित आदर्श कृषि सहकारी संस्था तथा रामधुनी–८ स्थित तिकुने महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।
कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको अनुगमन तथा नियमन क्षेत्रमा १४ जिल्लाका एक हजार ७५ वटा सहकारी संस्था रहेका छन्।










