|
5,386 SHARES |
झापा । श्रावण महिनाको तेस्रो सोमबारका अवसरमा झापाको अर्जुनधारा जलेश्वरधामसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। भगवान शिवको प्रिय मानिने साउन महिनाका सोमबारमा विशेष पूजा–आराधना गर्ने परम्पराअनुसार श्रद्धालुहरू जल, बेलपत्र र पूजा सामग्री लिएर मन्दिर पुगेका हुन्।
पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा नगरपालिका स्थित अर्जुनधारा जलेश्वरधाममा बिहानैदेखि दर्शनार्थीको लाम लागेको देखिएको छ। झापा, इलाम, मोरङ, सुनसरीलगायत पूर्वका विभिन्न जिल्लाका साथै भारतका विभिन्न राज्य र भुटानबाट समेत भक्तजन दर्शन तथा पूजाआजाका लागि धाम पुग्ने गरेका छन्।
धाम व्यवस्थापन समितिका अनुसार यस वर्ष दर्शनार्थीको चापलाई मध्यनजर गर्दै सुरक्षा, सरसफाइ, खानेपानी तथा व्यवस्थापनमा विशेष तयारी गरिएको छ। हिन्दु धर्मावलम्बी विशेषगरी महिलाले साउने सोमबारलाई अत्यन्त श्रद्धापूर्वक मनाउने गर्छन्। यस दिन निराहार व्रत बसेर भगवान शिवको पूजा–आराधना गर्दा मनोकामना पूरा हुने, परिवारमा सुख–शान्ति, सुस्वास्थ्य र दीर्घायु प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। त्यसैले भक्तजनले शिवलिङ्गमा जलाभिषेक गर्दै बेलपत्र, धतुरो, दूध तथा अन्य पूजा सामग्री अर्पण गर्ने परम्परा छ।
उता, राजधानी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पनि तेस्रो सोमबारका अवसरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहज आवागमनका लागि मन्दिरका चारैवटा ढोका खुला गरिएको जनाएको छ। बोलबम यात्रुका लागि विशेष व्यवस्था गर्नुका साथै दर्शनका लागि चारवटा छुट्टाछुट्टै लामको व्यवस्था मिलाइएको छ।
पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेव तथा देशभरका प्रमुख शिवालयहरूमा पनि बिहानदेखि श्रद्धालुको घुइँचो लागेको छ।










