झापा । झापा प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गर्दै आएको स्वीप अपरेशनका क्रममा एकैदिन २४ जना लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा शंकास्पद रूपमा हिँडडुल गरिरहेका २४ जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० रञ्जन अवालका अनुसार उक्त अपरेशनका क्रममा कुनै लागूऔषध बरामद भएको छैन भने लागूऔषध कारोबारी पनि पक्राउ परेका छैनन्।
पक्राउ परेका लागूऔषध प्रयोगकर्तालाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकताअनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने प्रक्रिया अघि बढाइएको डीएसपी अवालले जानकारी दिए।
यसअघि बिहीबार सञ्चालन गरिएको स्वीप अपरेशनका क्रममा प्रहरीले ५५ ग्राम ब्राउन सुगरसहित ४९ जनालाई पक्राउ गरेको थियो। झापा प्रहरीले लागूऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि निरन्तर स्वीप अपरेशन सञ्चालन गर्दै आएको जनाएको छ।









