अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय तथा स्थानीय पाठ्यक्रम विकास र पाठ्यपुस्तक लेखनमा योगदान पु¥याउने विज्ञहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।
नगरपालिकाको शिक्षा शाखाद्वारा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख खड्गमाया पराजुलीले उत्कृष्ट विद्यार्थी, विद्यालय तथा स्थानीय पाठ्यक्रम विकास समिति र पाठ्यपुस्तक लेखन दलका सदस्यहरूलाई पुरस्कार, कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो।
कक्षा ८ तर्फ २०८२ सालमा सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउने सिंहदेवी माध्यमिक विद्यालय, अर्जुनधारा–१ का ओमविक्रम न्यौपाने र लक्ष्मी माध्यमिक विद्यालय, अर्जुनधारा–६ का रिदेन्द्र किरण नेपाललाई पुरस्कृत गरिएको छ। दुवैले ३.८८ जीपीए प्राप्त गरेका थिए।
कक्षा १० तर्फ २०८१ सालमा लक्ष्मी माध्यमिक विद्यालयका आशुतोष ढुंगेल तथा २०८२ सालमा शनिश्चरे माध्यमिक विद्यालय, अर्जुनधारा–८ का निश्चल खतिवडाले ४ जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका थिए। उनीहरू दुवैजनालाई पुरस्कृत गरिएको छ।
त्यस्तै, कक्षा १२ तर्फ २०८१ सालमा लक्ष्मी माध्यमिक विद्यालयकी सम्झना अधिकारी र २०८२ सालमा शनिश्चरे माध्यमिक विद्यालयकी प्रिया सापकोटा उत्कृष्ट नतिजासहित पुरस्कृत भएका छन्।

शिक्षा शाखा प्रमुख हरिबहादुर कवरका अनुसार कक्षा ८ का उत्कृष्ट विद्यार्थीलाई जनही ८ हजार रुपैयाँ, कक्षा १० का उत्कृष्ट विद्यार्थीलाई १० हजार रुपैयाँ तथा कक्षा १२ का उत्कृष्ट विद्यार्थीलाई १२ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो।
त्यस्तै, नगरस्तरीय कक्षा ८ परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने ब्रिलियन्ट प्यूपल्स सेकेन्डरी स्कुल, अर्जुनधारा–६ का सामर्थ पोखरेल तथा न्यु होप इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, अर्जुनधारा–३ की आराध्य खत्रीलाई पनि पुरस्कृत गरिएको थियो।

विद्यालयतर्फ २०८२ सालको कक्षा ८ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने महारानीगञ्ज माध्यमिक विद्यालय, अर्जुनधारा–११ तथा कक्षा १० तर्फ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्मी माध्यमिक विद्यालय, अर्जुनधारा–६ सम्मानित भएका छन्। त्यसैगरी, २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कालिस्थान माध्यमिक विद्यालय, अर्जुनधारा–९ लाई समेत सम्मान गरिएको थियो।
यसैगरी, कक्षा ८ मा शतप्रतिशत नतिजा ल्याउने ब्रिलियन्ट प्यूपल्स सेकेन्डरी स्कुल, वल्र्ड भिजन इङ्लिस बोर्डिङ स्कुल, कालिका शिशु सदन तथा होलिका इङ्लिस बोर्डिङ स्कुललाई प्रशंसापत्रसहित सम्मान गरिएको छ।
कार्यक्रममा शिक्षा समितिका पदाधिकारी तथा सदस्यहरू, नगरका जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।









