अर्जुनधाराको रोजगार मेलाबाट १२१ जनालाई रोजगारी, ७ हजारभन्दा बढीले गरे अवलोकन



689 SHARES

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजारमा आयोजित रोजगार मेलाबाट १२१ जनाले रोजगारी पाउने भएका छन्।


अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग तथा अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजनामा असार ३ देखि ५ गतेसम्म सञ्चालन भएको रोजगार मेला करिब १८० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने लक्ष्यसहित आयोजना गरिएको थियो। मेलामार्फत हालसम्म १२१ जनाको रोजगारी सुनिश्चित भएको संघले जनाएको छ।

विज्ञापन

संघका अध्यक्ष इन्दिवर खड्काका अनुसार वेटर ४ जना, कुक १० जना, हाउसमेन २० जना, सेक्युरिटी गार्ड १३ जना, विभिन्न पसलका लागि २५ जना, केयरगिभर ६ जना, शिक्षक ५ जना, लोड–अनलोडतर्फ १० जना तथा ड्राइभिङ लाइसेन्स प्राप्त १० जनाले रोजगारी पाउने भएका छन्।

विज्ञापन

मेलामा रोजगारीका अवसरसँगै विभिन्न सीपमूलक क्षेत्रबारे परामर्श र तालिमसमेत प्रदान गरिएको थियो। अध्यक्ष खड्काका अनुसार २५० जनाले ब्यूटीसियन, ३०० जनाले इलेक्ट्रिसियन, १२५ जनाले कम्प्युटरसम्बन्धी तालिम तथा परामर्श लिएका छन्। यस्तै वेटर, सेल्स, शिक्षक, लेखा, हाउसकिपिङ, बारिस्ता, मन्टेश्वरी, सेक्युरिटी र सहयोगीसम्बन्धी क्षेत्रमा १५० जना तथा बेकरीसम्बन्धी क्षेत्रमा १५० जनाले परामर्श लिँदा केहीले तालिमसमेत प्राप्त गरेका छन्।

नगरपालिकाले रोजगारसम्बन्धी विषय हेर्ने एक जना कर्मचारीको व्यवस्था गरिदिए प्रत्येक वर्ष थप एक सय जनालाई रोजगारी उपलब्ध गराउन सकिने अध्यक्ष खड्काले बताए।

समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले रोजगार मेलाले बेरोजगारी न्यूनीकरण र दक्ष श्रमिक अभावको समस्या समाधानमा सहयोग पुगेको बताए। उनले यस्ता मेला केही वर्षअघिदेखि नै सञ्चालन हुनुपर्ने भए पनि ढिलै भए पनि यस वर्षबाट सुरु गरिएको उल्लेख गर्दै आगामी दिनमा निरन्तरता दिइने बताए।

उनका अनुसार रोजगार मेलाले सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै नागरिकलाई रोजगारीका अवसरसँग प्रत्यक्ष रूपमा जोड्ने काम गरेको छ।

समापन समारोहमा नगर प्रमुख गोम्देनले विभिन्न स्टलहरूको अवलोकन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्यसहित मेलाको औचित्य र गतिविधिबारे संघका अध्यक्ष खड्काले जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी चतुर्भूज काफ्लेले गरेका थिए।

मेलामा रोजगारीसम्बन्धी जानकारीसँगै जातीय झाँकी, सांस्कृतिक कार्यक्रम तथा धार्मिक पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू पनि समावेश गरिएका थिए। नगरका विद्यालयहरूको उल्लेखनीय सहभागिता रहेको मेलामा विविध सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

आन्तरिक तथा बाह्य गरी करिब ७ हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा विभिन्न प्रकृतिका २५ भन्दा बढी स्टलहरू राखिएका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय