|
681 SHARES |
काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकपमा विजयी सुरुआत गरेको छ। कप्तान लियोनेल मेसीले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेललाई अविस्मरणीय बनाउँदै ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सहज जित दर्ता गरेको हो।
अर्जेन्टिनाको जितमा मेसीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अन्तर्राष्ट्रिय फुटबलमा दुई सय खेल पूरा गर्ने अवसरमा उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।
खेलको १७औँ मिनेटमा रोड्रिगो डे पउलको पासलाई नियन्त्रणमा लिएर करिब २५ यार्ड टाढाबाट गरेको आकर्षक प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले अग्रता लिएको थियो।
दोस्रो हाफमा अर्जेन्टिनाले आफ्नो पकड थप मजबुत बनायो। खेलको ६०औँ मिनेटमा मेसीले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
त्यसपछि ७६औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको प्रहार अल्जेरियाका गोलरक्षक लुका जिदानले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा फर्किएको बललाई मेसीले आफ्नो कम चल्ने दायाँ खुट्टाबाट सहजै जाली चुमाउँदै ह्याट्रिक पूरा गरे।
विश्वकपको उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै बलियो सुरुआत गरेको छ भने कप्तान मेसीले आफ्नो ऐतिहासिक २००औँ अन्तर्राष्ट्रिय खेललाई ह्याट्रिकसहित थप स्मरणीय बनाएका छन्।









