|
695 SHARES |
झापा । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मीका कारण तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि आंशिक बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेश तथा अन्य प्रदेशका हिमाली भूभाग, सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा समेत चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
महाशाखाले वर्षासँगै चट्याङ्गको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।









