पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने : मन्त्री पराजुली

इलाम । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइने बताएका छन्।

इलामस्थित गौतम बुद्ध सभागृहमा शुक्रबार आयोजित ‘केचना–कञ्चनजंघा रेस्पोन्सिभ टुरिजम मिट’ उद्घाटन गर्दै मन्त्री पराजुलीले सीमित स्रोतसाधनका बाबजुद सरकारले अघि सारेका पर्यटनसम्बन्धी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए।


उनले कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ अपेक्षाअनुसार सफल हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा पर्यटनलाई उत्पादन र आर्थिक गतिविधिसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

विज्ञापन

इलाम नगरपालिका नगर पर्यटन प्रवर्द्धन समितिकी अध्यक्ष सुशीला सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिटका सहसंयोजक देवी पौडेलले सम्मेलनको उद्देश्यबारे प्रकाश पारे। उनले झापाको केचना र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघालाई एउटै पर्यटकीय करिडोरका रूपमा विकास गर्ने अवधारणा सम्मेलनको मुख्य आकर्षण रहेको बताए।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले तराईदेखि हिमाली क्षेत्रसम्म फैलिएको जैविक विविधता, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाको एकीकृत प्रवर्द्धनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

सम्मेलनको पहिलो दिन जिम्मेवार पर्यटन, जैविक विविधता संरक्षण, सीमापार पर्यटन तथा वन्यजन्तुसम्बन्धी विषयमा पर्यटन अभियन्ता अर्जुन कार्कीले प्रस्तुति दिएका थिए। यस्तै पर्यटन क्षेत्रका विज्ञ तथा अभियन्ता केशव धौराली, राज बसु, केदार शर्मा र विजय झुन्झुनवालाले स्थानीयदेखि अन्तर्राष्ट्रिय पर्यटनका विविध पक्षमा विचार राखेका थिए। छलफलको सहजीकरण सञ्चारकर्मी सुजन तिम्सिनाले गरेका थिए।

सम्मेलन उद्घाटनअघि इलाममा ऐतिहासिक ल्यान्ड रोभर गाडीसहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र भारतका पर्यटन व्यवसायी, विज्ञ, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय