|
678 SHARES |
अर्जुनधारा । विश्व वातावरण दिवसको अवसरमा झापाको अर्जुनधारा नगरपालिकाले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको वातावरण शाखाको आयोजनामा शुक्रबार नगरपालिकाको कार्यालय परिसरमा वृक्षरोपण गरिएको हो।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रमुख प्रशासकीय अधिकृत अनुज घिमिरे तथा नगरपालिकाका कर्मचारीहरूको सहभागितामा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।
वातावरण शाखाकी अधिकृत सपना रिमालका अनुसार दिवसको अवसरमा नगरपालिकाको कार्यालय परिसरमा १५ वटा बिरुवा रोपिएको छ। साथै नगरपालिकाका ११ वटै वडा कार्यालय र दुई वटा विद्यालयलाई समेत बिरुवा वितरण गरिएको छ।
उनका अनुसार अर्जुनधारा–३ स्थित भानु आधारभूत विद्यालय र अर्जुनधारा–८ काे शनिश्चरे माध्यमिक विद्यालयलाई ४०–४० वटा बिरुवा उपलब्ध गराइएको छ। त्यसैगरी नगरपालिकाका ११ वटै वडा कार्यालयलाई ४०–४० वटाका दरले बिरुवा वितरण गरिएको छ।

नगर कार्यालय परिसरको सौन्दर्य अभिवृद्धि, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारलाई ध्यानमा राख्दै वृक्षरोपण गरिएको अधिकृत रिमालले बताइन्।
नगरपालिकाले कन्काई सबडिभिजन वन कार्यालयबाट प्राप्त ६०० वटा बिरुवामध्ये बाँकी केही बिरुवा सामाजिक संघसंस्था तथा अन्य सरोकारवालालाई समेत वितरण गर्ने योजना रहेको जनाएको छ।
विश्व वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षण, हरित विकास तथा वृक्षारोपणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।









