लिङ्कन मन्टेस्वरी स्कुलको पाँचदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न



688 SHARES

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेस्वरी स्कुलको आयोजनामा सञ्चालन भएको पाँचदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ।

“आफ्नो आवाज, आफ्नो आत्मविश्वास : सफलतातर्फको पहिलो कदम” भन्ने मूल नारासहित जेठ १८ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको तालिम आदर्श अफ म्यानेजमेन्ट स्कुलको प्राङ्गणमा सम्पन्न भएको हो। नारी सञ्चार गृह झापाको सहजीकरणमा सञ्चालित तालिममा बिर्तामोडका सात वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।


शिक्षकहरूमा उद्घोषण कला, सार्वजनिक वक्तृत्व, प्रभावकारी सञ्चार, नेतृत्व क्षमता तथा व्यक्तित्व विकास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा उद्घोषण कला, मञ्च सञ्चालन, प्रस्तुतीकरण सीप, आत्मविश्वास विकास, सञ्चारकला तथा व्यक्तित्व विकासका विविध विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

विज्ञापन

तालिममा नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, उपाध्यक्ष जोस्ना श्रेष्ठ, पूर्वअध्यक्ष भीमा शिवाकोटी, सचिव दीपा पोखरेललगायतले प्रशिक्षण दिनुभएको थियो।

समापन समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी रहनुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा, कञ्चनजङ्घा स्कुलका प्रधानाध्यापक केशव न्यौपाने, प्याब्सन बिर्तामोड नगर समितिका सचिव दीपाङ्कर मैनाली, सह–कोषाध्यक्ष दीपक चौलागाईं, विद्यालय सञ्चालक तथा कार्यक्रम संयोजक सरोज पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले प्रभावकारी सञ्चार र आत्मविश्वास शिक्षक तथा विद्यार्थी दुवैका लागि अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिमले व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओझाले शिक्षकहरूको क्षमता विकास र शैक्षिक गुणस्तर सुधारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

तालिममा सहभागी शिक्षकहरूले कार्यक्रम अत्यन्तै फलदायी र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले उद्घोषण कला, सार्वजनिक वक्तृत्व, प्रभावकारी सञ्चार तथा व्यक्तित्व विकाससम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेको बताउँदै यस्ता तालिमले आत्मविश्वास वृद्धि तथा पेशागत दक्षता विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरेका थिए।

समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय