रमा तिवारी हत्या प्रकरण : भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह



682 SHARES

झापा । दमककी २१ वर्षीया रमा तिवारी (रोमा) हत्या प्रकरणमा विभिन्न कन्टेन्ट क्रिएटरहरूले अनेक व्यक्तिसँगका भिडियो अन्तर्वार्ता सार्वजनिक गर्न थालेपछि प्रहरीले भ्रामक र अपुष्ट सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले विज्ञप्ति जारी गर्दै अनुसन्धान जारी रहेका बेला अनुमानका भरमा सूचना तथा सामग्री सार्वजनिक गर्दा अनुसन्धान प्रक्रियामा गम्भीर असर पर्न सक्ने जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरणहरू आधिकारिक पुष्टि नभई सार्वजनिक हुँदा न्याय सम्पादन प्रक्रियामा प्रतिकूल प्रभाव पर्न सक्छ। त्यसैले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट अपुष्ट सूचना प्रसारण नगर्न सबैमा अनुरोध गरिएको छ।

विज्ञापन

गत जेठ १६ गते दमक–१० स्थित सेतुमारीको रतुवा खोलामा दमक–८ बसन्तटोल निवासी रमा तिवारीको शव बोराभित्र राखेर फालिएको अवस्थामा फेला परेको थियो। घरबाट हराएको तीन दिनपछि उनको शव भेटिएको थियो।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक हरि बस्नेतका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ। शंकास्पद व्यक्तिहरूमाथि सोधपुछ जारी रहेको उनले बताए।

प्रहरीले मृतकको मोबाइल फोनको कल विवरण, शंकास्पद व्यक्तिहरूको गतिविधि तथा अन्य प्रमाणहरूका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रहरीका अनुसार अनुसन्धान निष्कर्ष नजिक पुगेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय