|
9,000 SHARES |
झापा । अर्जुनधारा–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–८ अर्जुनधारामा जारी वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधारा–८ ले उपाधि नजिकको यात्रा तय गरेको हो । अब उपाधिका लागि अर्जुनधारा–८ ले अर्जुनधारा–१ सँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जेठ १७ गते अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
अर्जुनधारा–८ को जितमा निखिल तामाङले दुई गोल गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले खेलको ५० औं र ६७ औं मिनेटमा गोल गरे । त्यसअघि २२ औं मिनेटमा समिर हेमरमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । टोलीका लागि चौथो गोल राजिव ढुङ्गनाले ६८ औं मिनेटमा गरे ।
उत्कृष्ट प्रदर्शन गरेका अर्जुनधारा–८ का निखिल तामाङ खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा–१० का वडा अध्यक्ष भुपेन्द्र न्यौपाने तथा अर्जुनधारा–११ का वडा अध्यक्ष खगेन्द्र इङ्नामले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछन् । नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालका अनुसार वडा स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्दै नगरस्तरीय टोली निर्माणका लागि खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
फाइनल खेलका अवसरमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक तथा उदयीमान खेलाडीलाई समेत विद्यागत पुरस्कार प्रदान गरिने समितिका सदस्य सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
अर्जुनधारा–९ को गोलधाप युवा क्लब प्रतियोगिताको सह–आयोजक रहेको छ ।










