|
9,000 SHARES |
झापा । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभर विविध धार्मिक कार्यक्रम गरी मनाइँदैछ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनपछि मनाइने बकर इदका अवसरमा मुस्लिम समुदायले बिहानै स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन् । नमाजपछि एक–आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।
राजधानीको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद तथा इदगाहमा बिहानैदेखि मुस्लिम धर्मावलम्बीको उल्लेख्य उपस्थिति देखिएको छ ।
हिजरी सम्वत्अनुसार करिब १४३९ वर्षअघि अल्लाहको आदेश पालन गर्दै हजरत इब्राहिम आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । बकर इदमा पशु कुर्बानी दिने, गरिब तथा असहायलाई सहयोग गर्ने र पारिवारिक भेटघाट गर्ने चलन पनि रहेको छ ।
बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार नियमित बिदा परेकाले देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ ।










