|
9,000 SHARES |
झापा । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि बादल लागेको अवस्था छ। बाँकी तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ भने अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा अपराह्नपछि हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेस प्रदेश तथा अन्य हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।










