|
9,000 SHARES |
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ सित्खास्थित सुनकोशी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो डुबेर दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–४ घर भई वडा नं. ३ बोहोरेटार बस्ने दलबहादुर पुलामी मगरका ९ वर्षीय छोरा सफल पुलामी मगर र सरिता विकका १० वर्षीय छोरा युकेस विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक अजयकुमार कुशवाहाका अनुसार अपराह्न करिब ३ बजे स्थानीय गोठालाले नदीको छुट्टिएको सानो भँगालो किनारमा दुई बालक नुहाइरहेको देखेका थिए। त्यसको केही समयपछि एक बालक पानीमा डुबेको र अर्का एक जना बगेजस्तो देखिएपछि तत्काल प्रहरी चौकी सित्खामा खबर गरिएको थियो।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट खटिएको सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गरेका थिए। खोजीका क्रममा दुवै बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शव निकालेर पोस्टमार्टमका लागि पठाइएको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










