|
9,000 SHARES |
झापा । झापाको स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको संजालको छैटौँ बैठकले सुशासनदेखि भूमिहीन समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
इलामको कन्याममा सम्पन्न बैठकमा यस्तो प्रतिवद्धता जनाइएको हो । अर्जुनधारा नगरपालिकाको व्यवस्थापनमा आयोजित बैठकले स्थानीय सरकार सञ्चालन, न्यायिक समिति, सुशासन, भूमिहीन समस्या तथा उपप्रमुख–उपाध्यक्षको अधिकार क्षेत्रसँग सम्बन्धित विविध विषयमा महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख तथा संजालकी संयोजक खड्गमाया पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकमा झापाका विभिन्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहेको थियो । बैठकले विगतका गतिविधिको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहले अवलम्बन गर्नुपर्ने प्राथमिकतामाथि विस्तृत छलफल गरेको जनाइएको छ ।
बैठकमा स्थानीय तहका न्यायिक समितिमार्फत भइरहेका उत्कृष्ट अभ्यासबारे अनुभव आदान–प्रदान गरिएको थियो । न्याय सम्पादनका क्रममा देखिएका कानुनी तथा व्यवहारिक जटिलताबारे छलफल गर्दै ती समस्याको समाधानका लागि सामूहिक पहल गर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
संजालकी संयोजक पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्दै बैठकले विगतका गतिविधि, उपलब्धि र वर्तमान अवस्थाको समीक्षा गरी प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ ।
बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट निर्माण गर्दा युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको छ । युवाको प्रत्यक्ष सहभागितामा कार्यक्रम निर्माण गर्ने, सुशासन प्रवद्र्धन गर्ने, मानव संसाधन विकास तथा एकद्वार सेवा प्रणाली लागू गर्ने विषयलाई विशेष जोड दिइएको छ ।
यस्तै अटिजम तथा अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित विशेष कार्यक्रम सञ्चालन, अभिभावक शिक्षा, शैक्षिक गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा सुधार, वातावरण संरक्षण तथा व्यवस्थित भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राख्ने निर्णय बैठकले गरेको छ ।

प्रमिला न्यौपाने नयाँ संयोजक
संजालको आगामी कार्यकालका लागि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेलाई नयाँ संयोजकका रूपमा सर्वसम्मत चयन गरिएको छ । बैठकले नवनिर्वाचित संयोजक न्यौपानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । त्यस्तै आवासीय बैठकको व्यवस्थापन र आतिथ्यताका लागि अर्जुनधारा नगरपालिका तथा निवर्तमान संयोजक खड्गमाया पराजुलीलाई धन्यवाद ज्ञापन गरिएको छ ।
आन्दोलन र विध्वंसप्रति चिन्ता
बैठकले २०८२ भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’ तथा भदौ २४ गते भएका विध्वंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न, क्षतिपूर्ति उपलब्ध गराउन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सरकारसँग बैठकले माग गरेको छ । सार्वजनिक तथा निजी सम्पत्ति संरक्षणसम्बन्धी कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा समेत बैठकले जोड दिएको छ।
बैठकले वास्तविक भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको पहिचान र व्यवस्थापनका लागि स्पष्ट नीति तथा कानुन आवश्यक रहेको निष्कर्ष निकालेको छ । यसका लागि पर्याप्त बजेटको व्यवस्था गरी न्यायोचित व्यवस्थापन गर्न संघीय तथा प्रदेश सरकारसमक्ष जोडदार माग गरिएको छ ।
स्थानीय सरकार, प्रदेश सरकार र करुणा फाउन्डेसनको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमलाई निरन्तरता दिन बैठकले आग्रह गरेको छ। उक्त कार्यक्रमबाट लाखौँ नागरिक लाभान्वित भइरहेको उल्लेख गर्दै आवश्यक स्रोत र बजेट सुनिश्चित गर्न प्रदेश सरकार र करुणा फाउन्डेसनसँग माग गरिएको छ ।
बैठकमा केही स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षको अधिकार क्षेत्रमा हस्तक्षेप भएको, समन्वय अभाव देखिएको तथा अधिकार खोसिएको विषयमा समेत छलफल भएको थियो। बैठकले संवैधानिक तथा कानुनी अधिकारमाथि हस्तक्षेप नगर्न र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीले उपप्रमुख–उपाध्यक्षसँग समन्वय गरेर काम गर्न आग्रह गरेको छ ।
त्यस्तै उपप्रमुख वा उपाध्यक्ष अनुपस्थित हुँदा कार्यवाहक जिम्मेवारी कसलाई दिने भन्ने कानुनी व्यवस्था नभएको भन्दै सो रिक्तता परिपूर्ति गर्न कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ । बैठकले स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी बनाउन कानुन अधिकृत तथा सचिवालयमा आवश्यक कर्मचारीको अभाव रहेको निष्कर्ष निकालेको छ । न्यायिक समितिको कामलाई सहज बनाउन आवश्यक कर्मचारीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
उक्त बैठकमा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, इलामको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपप्रमुख उपाध्यक्षहरुको सञ्जालले असल अभ्यास आदानप्रदानको संस्कारको थालनी गरेर उदाहरणीय काम गरेको बताए । यसको निरन्तरतामा उनीहरुले जोड दिए । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोज घिमिरे लगायत विभिन्न पालिकाका कर्मचारीसमेत सहभागी थिए ।
संजालकी संयोजक अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको बैठकमा सञ्जालका सदस्यहरू मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, कन्काई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशी, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी मैनाली, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बैठकमा महत्त्वपूर्ण धारणा राखेका थिए । वैठकको सहजीकरण संवाद समूहले गरेको थियो ।










