भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको अधिकार रक्षा गर्न अर्जुनधारा प्रतिबद्ध छ : मेयर तामाङ



9,000 SHARES

अजुर्नधारा । झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका अधिकार संरक्षणमा नगरपालिका दृढ रहेको स्पष्ट पार्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको पत्र तथा पछिल्लो समय विभिन्न स्थानमा भइरहेको अतिक्रमण हटाउने कार्यका कारण सर्वसाधारणमा उत्पन्न भएको अन्योलप्रति नगरपालिका गम्भीर रहेको उहाँले बताउनुभयो । नागरिकमा त्रास र भ्रम फैलिएकोप्रति नगरपालिकाले ध्यानाकर्षण जनाएको छ ।

विज्ञापन

नगर प्रमुख तामाङका अनुसार २०७७ सालमा संकलित निवेदनका आधारमा अर्जुनधारामा २ सय ५३ भूमिहीन दलित, ६ सय ८४ भूमिहीन सुकुम्बासी र ६ हजार ४ सय ६० अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएको छ । तीमध्ये केहीले धनीपुर्जा प्राप्त गरिसकेका छन् भने बाँकीको हकमा कानुनी प्रक्रिया अघि बढिरहेको छ ।

विज्ञापन

उहाँले नागरिकको अधिकार सुनिश्चित गर्दै भूमि सम्बन्धी समस्या दीर्घकालीन समाधानतर्फ नगरपालिका अघि बढ्ने प्रस्ट पार्नुभयो ।

नगरपालिकाको स्वामित्वमा रहेको सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण भएको पाइएमा भने कानुनअनुसार हटाइने उहाँको भनाइ छ । २०८३ वैशाख १७ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार यस्ता अतिक्रमण नियन्त्रणका लागि आवश्यक प्रक्रिया अघि बढाइने तयारी गरिएको जनाइएको छ ।

नगर प्रमुख तामाङले वास्तविक सुकुम्बासी तथा भूमिहीन नागरिकलाई अधिकारबाट वञ्चित नहुने गरी काम भइरहेको उल्लेख गर्दै भ्रममा नपर्न र आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
2
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय