अर्जुनधारा नगरपालिकामा भित्रियो दमकल



9,000 SHARES

झापा । झापाको अर्जुनधारा नगरपालिकामा दमकल (बारुण यन्त्र) भित्रिएको छ । इलामको सूर्योदय नगरपालिकाले एक थान दमकल अर्जुनधारा नगरपालिकालाई प्रदान गरेको छ ।

आज बिहीबार आयोजित एक कार्यक्रमबीच सूर्योदय नगरपालिकाका उपप्रमुख एवं कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली तथा प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेलाई दमकलको चाबी हस्तान्तरण गर्नुभयो ।

विज्ञापन

दमकल हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख बरालले नगरमा दुई वटा दमकल रहेकाले विपद् व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले अर्जुनधारा नगरपालिकालाई सहयोगस्वरूप प्रदान गरिएको बताउनुभयो । उहाँले यो सहयोग दुई नगरबीचको सम्बन्ध विकासको एउटा महत्वपूर्ण आधार पनि भएको उल्लेख गर्नुभयो । निवर्तमान नगरप्रमुख रणबहादुर राई जिम्मेवारीमा रहँदै हस्तान्तरणको सोच भए पनि हाल नगर कार्यपालिकाको सहमतिबाट नै दमकल हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

विज्ञापन

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख तामाङले अर्जुनधारामा दमकल अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले दमकल उपलब्ध गराएकोमा सूर्योदय नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै प्राप्त दमकलले अर्जुनधारासहित आसपासका क्षेत्रमा हुने विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले अर्जुनधारामा झापाका चार वटा पालिकाका लागि विपद् केन्द्र निर्माणसमेत अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । केन्द्र सञ्चालनमा आएपछि त्यहाँबाट थुप्रै विपद् निवारण उपकरण सञ्चालनमा आउने तामाङले बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले चाँडै जनशक्ति व्यवस्थापन र आवश्यक प्रक्रिया पूरा गरेर दमकल सञ्चालनमा ल्याइने बताउनुभयो ।

सूर्योदय नगरपालिकाले नयाँ दमकल ल्याएपछि त्यसअघि सञ्चालनमा रहेको दमकल अर्जुनधारालाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेल, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला लगायत जनप्रतिनिधि र कर्मचारीको टोली तथा अर्जुनधारा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय