रवि किरण हमालले राप्रपाबाट दिए राजीनामा



9,000 SHARES

काठमाडौं । जेनजी आन्दोलनका अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाल ले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै पार्टीबाट पूर्ण रूपमा अलग्गिएको घोषणा गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा जारी प्रेस वक्तव्यमा उनले विगत एक दशकदेखि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सुशासन, सुसंस्कृत राजनीतिक संस्कार र स्थायित्वका लागि निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्दै अब नयाँ मार्ग रोज्ने निर्णयमा पुगेको बताएका छन् ।

विज्ञापन

उनले जेनजी आन्दोलनका क्रममा सक्रिय भूमिका निर्वाह गर्दा गोली खानसमेत तयार रहेको, भदौ २३ गते पक्राउ परेको र राजनीतिक विचारकै आधारमा अवमूल्यनको सामना गर्नुपरेको स्मरण गरेका छन् । साथै निर्वाचनका क्रममा जनस्तरबाट आफ्नो राजनीतिक दृष्टिकोणभन्दा फरक ढङ्गले अघि बढ्न आग्रह आएको पनि उनले उल्लेख गरेका छन् ।

विज्ञापन

वक्तव्यमा हमालले आफ्नो राजनीतिक यात्रा जनताको भावना, ऊर्जा, सपना र परिवर्तनको तीव्र चाहनासँग जोडिएको बताउँदै जनताको सार्वभौम इच्छा र आकांक्षालाई आत्मसात् गर्दै अघि बढेको उल्लेख गरेका छन् । उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन तथा जेनजी आन्दोलनका क्रममा जनताबाट प्राप्त संकेत, दिशाबोध र अपेक्षालाई सम्मान गर्दै जिम्मेवार निर्णयस्वरूप पार्टीबाट अलग्गिएको स्पष्ट पारेका छन् ।

उनले यो निर्णय कुनै निराशा वा असन्तुष्टिको परिणाम नभई आफ्नो पुस्ताको भावना र जनताको चाहनालाई स्वीकार गर्दै लिएको दाबी गरेका छन् । आगामी दिनमा राष्ट्र र जनताको सेवामा अझ दृढ संकल्प, उत्साह र ऊर्जाका साथ निरन्तर लागिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

हमालले जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी भावना राजनीति तथा शासन व्यवस्थामा व्यवहारिक रूपमा लागू गर्न निरन्तर संघर्ष गर्ने उल्लेख गरेका छन् । साथै मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको रक्षा गर्दै सुशासन, भ्रष्टाचारमुक्त प्रणाली र तीव्र आर्थिक विकासमार्फत जनताको जीवनस्तर उकास्ने अभियानमा अग्रसर रहने बताएका छन् ।

राजीनामासँगै उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहित सम्पूर्ण पार्टीपंक्तिप्रति विश्वास, सहयोग र साथका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

रवि किरण हमाल जेनजी आन्दोलनबाट उदाएका युवा नेता हुन् । उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय