|
9,000 SHARES |
काठमाडौँ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज (आइतबार) अदालतमा उपस्थित गराइने भएको छ।
प्रहरीले दुवै जनालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालत मा पेश गर्ने तयारी गरेको हो। प्रचलित कानुनी व्यवस्थाअनुसार प्रहरीले प्रारम्भिक चरणमा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने भए पनि त्यसका लागि अदालतको स्वीकृति आवश्यक पर्नेछ।
पक्राउपछि ओलीलाई स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको प्रहरीले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले शनिबार बिहानै भक्तपुरबाट दुवै नेतालाई पक्राउ गरेको थियो।
उक्त आन्दोलन हिंसात्मक बनेपछि तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए। आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाटसमेत भएको थियो।










