|
9,000 SHARES |
नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये एक जनाको सनाखत भएको छ। मृत्यु हुने तीनै जना पुरुष रहेका छन्। उनीहरूमध्ये गोविन बुढा (२५) रोल्पाका रहेको पुष्टि भएको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गएराति करिब १ बजे बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट गुडिरहेको लु २ ख २३५१ नम्बरको बसले अगाडि रहेको ना ५ ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएका थिए।
ठक्करपछि बस र ट्रक करिब २०० मिटर तल खसेको डिएसपी पन्तले जानकारी दिएका छन्।
दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।










