|
9,000 SHARES |
शिवसताक्षी । झापाको झिलझिलेमा रहेको ‘वाटर किङ्गडम पार्क’ नयाँ व्यवस्थापनसहित पुनः सञ्चालनमा आएपछि चैत्र महिनाका लागि विशेष योजना सार्वजनिक गरिएको छ। केही समय निष्क्रियजस्तै बनेको पार्क अहिले पुनर्जीवित हुँदै सेवाग्राहीलाई आकर्षित गर्न थालेको हो।
पार्क व्यवस्थापनका अनुसार चैत्र महिनाभर टिकट काटेर घुम्न आउने प्रत्येक आगन्तुकलाई एक प्लेट मम र कोल्ड ड्रिङ्क्स निःशुल्क उपलब्ध गराइनेछ। सञ्चालक राजकुमार सङ्ग्रौलाले आन्तरिक पर्यटक बढाउने उद्देश्यले यस्तो अफर ल्याइएको जानकारी दिनुभयो।
२०७८ पुस २५ गते उद्घाटन गरिएको पार्क प्रारम्भमै लोकप्रिय बने पनि कोभिड–१९ महामारीपछि उत्पन्न आर्थिक संकटले सञ्चालनमा अवरोध सिर्जना गरेको थियो। वित्तीय दबाबका कारण केही समय बन्द गर्नुपरेको पार्क अहिले पुनः सञ्चालनमा ल्याइएको हो।
सञ्चालक सङ्ग्रौलाका अनुसार हालसम्म परियोजनामा ६५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। कोरोनाकालमा बैंक ऋणको ब्याजदर उच्च हुँदा व्यवसाय प्रभावित भए पनि अहिले अवस्था क्रमशः सुधारतर्फ उन्मुख रहेको उहाँले बताउनुभयो।
पार्क बन्द भएको भन्ने हल्ला निराधार रहेको स्पष्ट पार्दै व्यवस्थापनले हाल सबै सेवा नियमित सञ्चालनमा रहेको जनाएको छ। जिपलाइन, वेभ पुल, स्विमिङ पुल, बालबालिकाका लागि किड्स जोन, वाटर एक्टिभिटी स्टेशन, कृत्रिम गुफा र विभिन्न मूर्तिकलाहरू यहाँका मुख्य आकर्षण हुन्।
यसैगरी, विवाह, ब्रतबन्ध, पार्टी तथा अन्य पारिवारिक कार्यक्रमका लागि पनि पार्कभित्र विशेष सुविधा उपलब्ध गराइएको छ। तीन बिघा क्षेत्रफलमा फैलिएको पार्कमा सात वटा भूकम्पप्रतिरोधी भवन, दुई वटा रेस्टुरेन्ट, ३५ वटा आवासीय कोठा तथा १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल सञ्चालनमा रहेका छन्।
निजी क्षेत्रको ठूलो लगानीमा निर्माण भएको यस पार्कले कोशी प्रदेशमा आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।










