|
9,000 SHARES |
झापा । सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रह्यो। यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले घट्दै सुनको भाउ २ लाख ७३ हजार ९ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा देखिएको हो।
पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन अहिले ३६ हजार रुपैयाँले सस्तो भएको हो।
यसैबीच, चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ। प्रतितोला ८० रुपैयाँले वृद्धि भएसँगै चाँदीको भाउ ४ हजार ५०५ रुपैयाँ पुगेको छ। तर, साप्ताहिक रूपमा हेर्दा चाँदीको मूल्य पनि घट्दो क्रममा नै देखिएको छ। गत मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्म ८३० रुपैयाँले घटिसकेको छ।










