|
9,000 SHARES |
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटक परेको हिमपातले यहाँका किसान तथा पशुपालक व्यवसायीलाई ठूलो राहत मिलेको छ। यस वर्ष अनुकूल समयमा पटक–पटक हिउँ परेकाले किसानहरू उत्साहित भएका छन्।
शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्र लगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो। घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका का उच्च लेक क्षेत्रमा हिमपात भएको छ भने बस्ती क्षेत्रमा वर्षा भएको छ। हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका उच्च लेकका चरन क्षेत्र पूर्ण रूपमा हिउँले ढाकिएका छन्।
घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमाथिको उच्च लेक सेताम्मे भएको छ। स्थानीय पशुपालक किसान च्याङबहादुर थकाली का अनुसार ठिनीमाथिको भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गअन्तर्गत मेसोकोन्दो पास क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ।
उनका अनुसार पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिमपात नहुँदा चरन क्षेत्रमा घाँस अभाव हुने समस्या देखिँदै आएको थियो। तर यस वर्ष परेको हिउँले चरन क्षेत्रमा पर्याप्त घाँस पलाउने अपेक्षा गरिएको छ, जसले पशुपालन व्यवसायलाई राहत दिनेछ।
पछिल्ला तीन वर्षदेखि अनियमित हिमपातका कारण पशुपालन सङ्कटमा पर्दै आएको उल्लेख गर्दै उनले यसपटकको हिमपातलाई सकारात्मक रूपमा लिएका छन्। साथै, अनुकूल समयमा परेको हिउँले वन्यजन्तु—विशेषगरी हिउँ चितुवाको आहारा प्रजाति—बस्तीमा झर्ने सम्भावना घटाउने भएकाले जोखिमसमेत कम हुने विश्वास व्यक्त गरिएको छ।
यसैगरी, हिमपातले खेतीयोग्य जमिनमा चिस्यान कायम राखी माटोको भित्री तहसम्म पानी सञ्चय (रिचार्ज) हुने भएकाले उवा, जौँ, गहुँ तथा हरियो तरकारीजस्ता बालीका लागि लाभदायक भएको छ। स्याउखेतीका लागि पनि यो अनुकूल मानिएको छ, यद्यपि फूल फुल्ने समयमा हिमपात नपरोस् भन्ने किसानहरूको अपेक्षा छ।
अनुकूल हिमपातले बालीमा लाग्ने रोग–कीराको प्रकोप घटाउने भएकाले यसलाई प्राकृतिक (अर्गानिक) विषादीका रूपमा समेत लिइएको छ। साथै, पर्यटकीय सिजनमै हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।










