|
9,000 SHARES |
भियतनाम । नेपालको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ दल नेपालका पार्टी सभापति माधव कल्पितलाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
भियतनामको दा नाङ फाइन आर्ट एशोसिएसनले ८ मार्च २०२६ मा बा ना हिल्समा आयोजित विशेष कार्यक्रममा कल्पितलाई स्वागतसहित सम्मान गरेको हो। भियतनाममा फागुन ५ देखि चैत ४ सम्म मनाइने नयाँ वर्ष २०२६ को विशेष अवसरमा उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
नेपाली साहित्य, कला तथा संस्कृतिको संरक्षण र संवर्द्धनका लागि “एक इट्टा अभियान” सञ्चालन गरी बहुजातीय सांस्कृतिक सङ्ग्रहालयसहितको सुविधा सम्पन्न झापा नाटक घर निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाले जनाएको छ।
मलेसिया र भियतनामको एक हप्ता लामो पारिवारिक भ्रमणमा रहेका कल्पितले भ्रमणका क्रममा कला, साहित्य तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा भियतनामले अन्तर्राष्ट्रिय जगतमा पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै विभिन्न मञ्चमा नेपालको तर्फबाट सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।
भियतनामका विभिन्न पर्यटकीय स्थलमा कलाकारहरूसँग गरिएको सांस्कृतिक आदान–प्रदान तथा उनले प्रस्तुत गरेका कार्यक्रमबाट प्रभावित भियतनामी कलाकारहरूले विदाइको अवसरमा उनलाई विशेष सम्मान प्रदान गरेका हुन्।
यस सम्बन्धमा क्षितिज नाट्य प्रतिष्ठान नेपालकी उपाध्यक्ष तथा कल्पितकी श्रीमती सुजना खतिवडाले जानकारी दिएकी छन्। परिवार स्रोतका अनुसार क्यानडाको टोरन्टोबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छोरा समिन र सनदी लेखापाल बुहारी आयुषाको विवाहपछि कल्पित परिवार एक हप्ता लामो वैदेशिक भ्रमणमा रहेको जनाइएको छ।










