|
9,000 SHARES |
काठमाडाैं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत दोस्रो खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै इटालीसँग १० विकेटको फराकिलो हार बेहोरेको छ। ब्याटिङ र बलिङ दुवै क्षेत्रमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपाल प्रतियोगितामा दबाबमा परेको छ।
नेपालले दिएको १ सय २३ रनको सामान्य लक्ष्य इटालीले मात्र ११.४ ओभरमै कुनै क्षति बेहोर्नु नपरी पूरा गर्यो। इटालीका ओपनर एन्थोनी मोस्का र जस्टिन मोस्काबीचको सशक्त साझेदारीले नेपाली बलिङ आक्रमणलाई पूर्ण रूपमा निस्तेज बनायो।
एन्थोनी मोस्काले ३२ बलमा ६२ रनको विस्फोटक इनिङ्स खेल्दै खेलको गति सुरुदेखि नै इटालीतर्फ मोडे। उनले तीन चौका र छ छक्का प्रहार गरे। अर्का ओपनर जस्टिन मोस्काले ४४ बलमा अविजित ६० रन जोड्दै संयमित तर प्रभावशाली प्रदर्शन गरे। उनले पाँच चौका र तीन छक्का प्रहार गर्दै टोलीलाई सहज जित दिलाए।
नेपालका बलरहरू लय समात्न असफल भए। न त लाइन–लेन्थमा निरन्तरता देखियो, न त दबाब सिर्जना गर्ने रणनीति सफल भयो। सबैभन्दा चिन्ताजनक पक्ष भनेको एक विकेटसमेत लिन नसक्नु रह्यो, जसले नेपालको कमजोर बलिङ प्रदर्शन झन् उजागर गर्यो।
यस हारसँगै नेपालको सुपर चरणको सम्भावना जटिल बनेको छ। अब बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन नगरे नेपालको यात्रा प्रारम्भिक चरणमै टुंगिने खतरा बढेको छ।










