शिवसताक्षीमा १६औँ राष्ट्रपति रनिङ शिल्डको भव्य उद्घाटन



9,000 SHARES

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य समारोहका बीच शनिबार उद्घाटन गरिएको छ। दुधे रंगशालामा सुरु भएको प्रतियोगिता आगामी सोमबारसम्म सञ्चालन हुनेछ।

नगर प्रमुख मेघाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो।

विज्ञापन

खेलकुदको प्रवर्द्धन गर्दै विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले नगरस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थोप्राले खेलकुदले विद्यार्थीहरूको जीवनशैली अनुशासित, नैतिकवान र ऊर्जाशील बनाउने उल्लेख गर्नुभयो। उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भविष्यमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुन बलियो आधार बन्ने विश्वास व्यक्त गर्नुभयो।

विज्ञापन

नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा आयोजित प्रतियोगितामा ४० विद्यालयका करिब ३०० विद्यार्थी विभिन्न खेल विधामा प्रतिस्पर्धा गरिरहेका छन्। शिक्षा शाखा प्रमुख छवि ढकालका अनुसार प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स, कराँते, दौडलगायतका खेल समावेश छन्।

यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक स्फूर्ति, अनुशासन र खेल भावना विकास गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने स्काउटर विद्यार्थीहरूले मार्चपास गरेका थिए।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, खेलाडी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोह सामाजिक विकास समितिकी सदस्य यशोदा विमलीको अध्यक्षतामा सम्पन्न भएको हो। स्वागत मन्तव्य जनआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवानीप्रसाद थापाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगर प्याब्सन अध्यक्ष रामप्रसाद सुहाङले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय