पठन संस्कृति अभियानले निर्वाचन लक्षित ‘किताब खोई’ अभियान सञ्चालन गर्ने



9,000 SHARES

झापा । पठन संस्कृति अभियानले आगामी फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनलाई लक्षित गर्दै पाँच बुँदे ‘किताब खोई’ अभियान सञ्चालन गर्ने भएको छ। उम्मेदवारहरूले आफ्नो वचनबद्धता तथा घोषणापत्रमा किताब र पठन संस्कृतिसम्बन्धी एजेन्डा समावेश गर्न दबाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको अभियानका संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो।

झापाका १०० भन्दा बढी संघ–संस्थाको सामूहिक पहलमा ‘पढौँ, अघि बढौँ’ भन्ने मूल नारासहित पठन संस्कृति वर्ष २०२६ मनाइँदै आएको छ। व्यक्तित्व विकासका लागि पढाइ अनिवार्य रहेको र पुस्तकमार्फत नयाँ ज्ञान तथा अनुभव हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले अभियानको थालनी गरिएको हो।

विज्ञापन

आगामी निर्वाचनमा उम्मेदवारहरूले उठाएका स्थानीय तथा राष्ट्रिय मुद्दाले जनमानसमा जागरुकता र आशा दुवै जगाइरहेका बेला आफ्नो क्षेत्र, भूगोल, इतिहास र पहिचानप्रति कत्तिको जिम्मेवार भएर विषय उठाइन्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको अभियानको ठहर छ।

विज्ञापन

यसै सन्दर्भमा सञ्चालन गरिने ‘किताब खोई’ अभियानले आफ्नै भूगोलको इतिहासप्रति गौरवबोध गराउने, स्थानीय माटोसँगको आत्मीयता उजागर गर्ने र मतदाताको भावना जित्न सहयोग पुग्ने संयोजक सिग्देलको धारणा छ। यसले झापा जिल्लाको गौरव, गाथा र राष्ट्रिय महत्व प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

अभियानका सह–संयोजक केशव मैनालीका अनुसार उम्मेदवारहरूले घरदैलो अभियानका क्रममा व्यक्त गर्ने विचार र प्रतिबद्धतालाई बौद्धिक वर्गले समेत नजिकबाट नियालिरहेको सन्दर्भमा घोषणापत्रमा पठन संस्कृतिलाई कति महत्व दिइएको छ भन्ने अभियानको प्रमुख चासो हो।

यस क्रममा झापा जिल्लाबाट निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरूलाई भेट गरी अभियानबारे जानकारी गराइने र घोषणापत्रमा पठन संस्कृतिसम्बन्धी एजेन्डा अनिवार्य रूपमा समेट्न आग्रह गरिने पठन अभियन्ता सन्तोष आचार्यले बताउनुभयो।

अभियानद्वारा उम्मेदवारलाई सुझाइएका पाँच बुँदा :

१) प्रत्येक वडामा कम्तीमा एक सार्वजनिक पुस्तकालय स्थापना गर्ने वा सञ्चालनमा रहेका पुस्तकालयलाई बजेट विनियोजन गरी सुदृढ बनाउने।

२) सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संस्थामा अनिवार्य रूपमा मिनी लाइब्रेरी स्थापना गर्न पहल गर्ने।

३) निजी तथा सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पुस्तक खरिदमा अनिवार्य बजेट छुट्याउने।

४) सार्वजनिक कार्यक्रममा अतिथिलाई मायाको चिनोस्वरूप पुस्तक दिने संस्कार प्रवर्द्धन गर्ने।

५) प्रत्येक वडामा कम्तीमा एक सार्वजनिक स्थलमा कार्यक्रम हलसहितको पुस्तकालय र सार्वजनिक पार्क निर्माण गर्ने।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय