गरामनीमा सन्थाल समुदायले मनाए सोहराय पर्व



9,000 SHARES

झापा । झापाको बिर्तामोड नगरपालिका–९ स्थित गरामनीमा सन्थाल समुदायको महान् पर्व सोहरायको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सन्थाल मार्साल डाहार सुसार समाजको आयोजनामा सम्पन्न कार्यक्रममा सन्थाल समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

सोहराय पर्व सन्थाल समुदायको प्रमुख सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ, जुन कृषि चक्र, पशुपालन र प्रकृतिप्रतिको कृतज्ञतासँग गहिरो रूपमा जोडिएको छ । धानबाली भित्र्याएपछि मनाइने यस पर्वले परिवार, समाज र प्रकृतिबीचको सहअस्तित्वलाई प्रतीकात्मक रूपमा उजागर गर्दछ । पूर्वी नेपालका झापा र मोरङ जिल्लामा सन्थाल समुदायको उल्लेख्य बसोबास रहेको छ, जहाँ यो पर्व विशेष उत्साह र उमंगका साथ मनाइने गरिन्छ ।

विज्ञापन

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की रहनुभएको थियो । कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सन्थाल जातिको मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षणका लागि राज्य र समुदाय दुवैको सक्रिय पहल आवश्यक रहेको बताउनुभयो । उहाँले सांस्कृतिक विविधता नै नेपालको शक्ति भएको उल्लेख गर्दै आदिवासी समुदायको पहिचान जोगाउन साझा प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

विज्ञापन

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नं. ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, वडा नं. ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाई, वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य संगिता सिवा, हडम मुर्मुलगायत जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।

सांस्कृतिक कार्यक्रममा परम्परागत सन्थाल नृत्य, गीत–संगीत र भेषभूषाको आकर्षक प्रस्तुति गरिएको थियो । भारतबाट आएका कलाकार नानोक हस्ता, सोनाली सोरेन, अजित मुर्मु, भोला मुर्मुलगायतले विशेष प्रस्तुति दिएका थिए भने स्थानीय कलाकार सोराहीले पनि कार्यक्रमलाई थप जीवन्त बनाएका थिए ।

कार्यक्रमको अध्यक्षता मुकेस हस्ताले गर्नुभएको थियो भने सञ्चालन श्याम मुर्मुले गर्नुभएको थियो ।

पछिल्लो समय आधुनिकता र शहरीकरणका कारण आदिवासी समुदायका मौलिक संस्कृतिमा चुनौती देखिँदै गएको सन्दर्भमा यस्ता कार्यक्रमले सांस्कृतिक संरक्षण, पहिचान सुदृढीकरण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार सोहराय पर्वले उत्सव मात्र नभई समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक गर्वलाई समेत सशक्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय