|
9,000 SHARES |
बिर्तामोड । दमकमा सुनका गरगहना चोरी तथा लागुऔषध कारोबारमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिवसताक्षी–२ घर भई हाल दमक–८ बस्ने प्रकाश घतानी, दमक–७ बस्ने कमलबहादुर रञ्जीतकार, उनका बुबा नरबहादुर रञ्जीतकार र कमलबहादुरकी श्रीमती सन्ध्या हिङमाङ रहेका छन्।
गत माघ ७ गते दिउँसो दमक–५ चाँदनी टोल निवासी कमला चम्लागाईंको घरबाट अपरिचित व्यक्तिहरूले १ तोलाको सुनको चुरा, ६–६ आनाका सुनका नौगेडी र तिलहरी, ५ आनाका दुईवटा सुनका औँठी, १० आनाको झुम्का तथा नगद २५ हजार रुपैयाँ चोरी गरेका थिए।
सिसिटिभी फुटेजको आधारमा गरिएको अनुसन्धानका क्रममा प्रकाश घतानी र कमलबहादुर रञ्जीतकार चोरीमा संलग्न रहेको खुलेपछि उनीहरूलाई माघ १० गते दिउँसो दमक–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा घतानीले चोरी गरिएका केही सुनका गरगहना आफू बस्ने कोठामा लुकाएर राखेको बताएका थिए। सोही आधारमा गरिएको खानतलासीमा १ जोर सुनको झुम्का, १ थान चुरा, १ थान औँठी र नौगेडीका केही दाना बरामद गरिएको थियो।
यसैक्रममा नौगेडीका दुई दाना कमलबहादुरले आफ्ना बुबा नरबहादुर रञ्जीतकारलाई राख्न दिएको खुलेपछि नरबहादुरलाई पनि माघ १० गते राति दमक–१ बाट पक्राउ गरिएको हो। उनको शरीर तथा घर खानतलासी गर्दा जिन्स पाइन्टको गोजीबाट नौगेडीका दुई दाना फेला परेको प्रहरीले जनाएको छ।
त्यसपछि कमलबहादुरको घर खानतलासी गर्ने क्रममा उनकी श्रीमती सन्ध्या हिङमाङले झ्यालबाट शङ्कास्पद वस्तु फालेको देखिएपछि खोजी गर्दा सेतो बट्टाभित्र १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकामाथि चोरी र लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










