|
9,000 SHARES |
अर्जुनधारा । झापा अर्जुनधाराका अनिष तामाङ चर्चित रियालिटी शो हिमालय रोडिज सिजन–७ का विजेता बनेका छन्। सोमबार राति अबेर सम्पन्न फाइनल राउन्डबाट तामाङले उपाधि जितेका हुन्।
फाइनल प्रतिस्पर्धामा काठमाडौँकी रोजिता लामा पनि पुगेकी थिइन्। अनिष र रोजिता दुवै टिम अनुप बाट फाइनलमा प्रवेश गरेका भए पनि निर्णायक चरणमा अनिषले बाजी मार्न सफल भए।
अर्जुनधारा नगरपालिका–५ निवासी अनिष तामाङ हाल नेपाली सेनामा कार्यरत छन्। सिजन–७ का च्याम्पियन बनेसँगै उनले नगद १० लाख रुपैयाँ र एफजेड भी–३ मोटरसाइकल पुरस्कारस्वरूप प्राप्त गरेका छन्। उनी झापाको अर्जुनधारामा रहेको शनिश्चरे तेक्वान्दो डोजाङका खेलाडी (थर्ड डान) समेत हुन्।
उपाधि विजेता तामाङलाई हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल लगायतका अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए।
उपविजेता रोजिता लामाले एटिआइटिएम कलेजबाट ६ लाख रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्तिसहित अन्य आकर्षक उपहार प्राप्त गरिन्। पेशाले व्यायाम प्रशिक्षक रहेकी रोजिता हिमालय रोडिजको इतिहासमा फाइनलसम्म पुग्ने पहिलो महिला प्रतियोगी बनेकी हुन्।










