|
9,000 SHARES |
शनिश्चरे । नेपालको पूर्वी भेग झापा जिल्लाकै पुरानो बजार अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे बजारमा ठडिएको सुनौलो रथले अवलोकनकर्ताको मनमा धर्म, दर्शन र इतिहासको भाव गाढा बनाउँछ ।
यो कुनै सामान्य मूर्ति मात्र होइन- यो महाभारतकालीन कुरुक्षेत्रको युद्धमैदानमा सारथि बनेका भगवान श्रीकृष्ण र योद्धा अर्जुनको त्यो ऐतिहासिक क्षणको मूर्त अभिव्यक्ति हो, जहाँ “श्रीमद्भगवद्गीता” को दिव्य उपदेश प्रतिध्वनित भएको थियो।

धार्मिक दर्शन र मूर्त सौन्दर्यको संगम
शनिश्चरे बजारको आागन भित्रै पूर्वको प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा जलेश्वरधाम तर्फ जाने मार्गमा बनाइएको यस भव्य मूर्तिशिल्पमा भगवान श्रीकृष्ण सुनौलो रथको अगाडिपट्टि रथि बनेर बसिरहेका छन्। उनले आकाशतर्फ औँला उठाइरहेका छन् -जसको संकेत होः जीवनको मार्ग धर्म, सत्य र कर्म होस्।
अर्जुन धनुर्विद्यामा सन्नद्ध छन्, तर मुख भावविहीन -जसरी उनी युद्धको द्विविधामा थिए। चार सेता घोडाहरूले तानिरहेको यो रथ, साहस र गतिशीलताको प्रतीक बनेर अगाडि लम्किरहेको देखिन्छ ।

रथमुनिको कलात्मक बनावट, सुनौलो रंग, छत्रधारी छायाँ, श्रीकृष्णको मुकुट र अर्जुनको धनुष सबै मिलेर यो मूर्तिलाई मात्र होइन, दर्शनलाई पनि जीवन्त बनाइदिएको छ । रथ वरिपरिको घेराबार र नगरपालिकाको सौन्दर्यकरण कार्यले यसलाई थप सुरक्षित र व्यवस्थित बनाएको छ ।

सांस्कृतिक पहिचान र स्थानीय गौरव
यो मूर्ति केवल धार्मिक आस्था वा कलाको लागि मात्र निर्माण गरिएको होइन । यो अर्जुनधारा नगरपालिकाको सांस्कृतिक आत्मा बनिसकेको छ । शनिश्चरे बजारको यो स्थानसंगै अन्य विभिन्न कलात्मक मुर्ति र श्रृगार अहिले स्थानीय बासिन्दा, तीर्थयात्री र पर्यटकहरूको आकर्षणको केन्द्र बन्दैछ । स्थानीय व्यवसायमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।
अर्कोतर्फ, यहाँ आउने युवापुस्ताले भगवान श्रीकृष्णको उपदेश -“कर्म गर, फलको चिन्ता नगर”-लाई मूर्त स्वरूपमा अनुभूति गर्न सक्छन्।

पर्यटन र प्रचारको सम्भावना
नगरपालिकाले यस क्षेत्रको बनावटमा निक्कै मेहनत गरेको देखिन्छ । व्यापक प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटनको केन्द्र बन्दै गएको शनिश्चरे बजार एक नमुना खुला संग्रहालय बन्न सक्नेछ ।
शनिश्चरे बजारको यो रथमूर्ति एउटा मूर्त कलाकृति मात्र नभएर दर्शन, इतिहास, धार्मिक शिक्षाको गहिरो प्रतीक हो। यो अर्जुनधारा नगरपालिकाको सांस्कृतिक पहिचान, धार्मिक समर्पण र स्थानीय सृजनशीलताको सुन्दर नमूना हो -जसले वर्तमानलाई विगतसँग जोड्छ र भविष्यलाई प्रेरणा दिन्छ ।

हाल आएर अर्जुनधारा नगरपालिकाले बजार क्षेत्रको सौन्दर्यकरणका लागि अझबढी तदरुपता देखाउन थालेको छ । नगरपालिकाले नगरकै पहिचानको रुपमा विकास र संरक्षण गरिरहेको शनिश्चरे बजारले निकट भविष्यमै अझ परिष्कृत रुप लिने निश्चित छ ।










