झापा। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एमालेका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी नियुक्त भएका छन् ।
मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भण्डारीले आजै साँझ सपथ लिएका छन् ।
कोशी प्रदेशका प्रदेश प्रमुख खापुङले भण्डारीलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल,कोशी प्रदेशका आर्थिक तथा मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्की, कोशी प्रदेशका कोशी प्रदेशका प्रमुख सचिब केदारनाथ शर्मा ,पूर्व मुख्यमन्त्री उद्धब थापा, उच्च अदालत बिराटनगरका न्यायाधीश ,कोशी प्रदेशका विभिन्न मन्त्रालयका सचिब ,कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरु ,प्रदेश सभा सदस्यहरु ,मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई ,मोरङ जिल्लाका सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लब अधिकारीले तीन जना युवालाई अनधिकृत रूपमा जापान लगेपछि विवादमा परेका थिए । उनी जापानको एयरपोर्टबाट डिपोर्ट भई नेपाल फर्काइएका थिए । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
अधिकारीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउन सिफारिस गरेपनि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको थियो ।