इटहरीमा दुर्घटना : ससुराको मृत्यु, बुहारीसहित तीन घाइते

सुनसरी । इटहरीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

इटहरी १३ खनारस्थित कालीमन्दिर अगाडी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको खनार ट्राफिक प्रहरीका प्रमुख प्रहरी सहायक निरीक्षक रजाराम यादवले जानकारी दिए।

टाउकोमा गम्भीर चोट लागेका रिजालको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा हिजो साँझ ६ बजेतिर मृत्यु भएको यादवले बताए। घाइते भएका तीनजनाको उपचार भइरहेको छ।

सोही स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ। घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ। मृतक गोपाल र बबिता ससुरा–बुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसैगरी मोटरसाइकल चालक कोसी गाउँपालिका–८ बस्ने अन्दाजी २६ वर्षीय आशिक आलम र पछाडी सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनिता पाठक घाइते भएका छन्। उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ। आशिकको टाउकोमा चोट लागेको छ भने विनिताको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

ढेड महिनाको अवधिमा इटहरीको विभिन्न क्षेत्रमा सडक दुर्घटनाका कारण छ जनाले ज्यान गुमाएका छन् भने एक दर्जन घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
197
सम्बन्धित

लोकप्रिय

लोकप्रिय