सभामुख घिमिरेको दुई वर्ष पूरा, गृह जिल्लामा विकास आयोजना निरिक्षण [तस्बिरसहित]

बिर्तामोड । सभामुख देवराज घिमिरेले गृह जिल्लामा विकास आयोजना निरिक्षण गर्नु भएको छ । संघीय सांसद निर्वाचित भएको दुई वर्ष पुगेकै दिन उहाँले मंगलवार झापा क्षेत्र नम्बर २ का आधा दर्जन विकास आयोजना निरीक्षण गर्नुभएको हो ।

संसद अधिवेशन नभएको र संसदीय गतिविधि कम भएको अवस्थामा सभामुख घिमिरेले जिल्लाको विकास आयोजनालाई प्राथमिकता दिँदै आउनुभएको छ । आइतबार झापा आएलगत्तै बिर्तामोड र कनकाई क्षेत्रको अवलोकन गर्नुभएका घिमिरेले सोमबार निर्माणको तयारीमा रहेको सुपारी प्रशोधन केन्द्रको अवलोकन गर्नु भएको थियो । मंगलबार बिहानदेखि साँझसम्म घिमिरे प्रदेश सभा सदस्य चिन्तन पाठकसहित राजनीतिक दलका अगुवा, सम्बन्धित आयोजनाका अधिकारीहरूसहित निर्वाचन क्षेत्र अन्तगर्तका विभिन्न आयोजनासंगै झापा र इलाममा संचालनमा रहेका योजनाको निरिक्षणमा पुग्नुभएको थियो ।

आज मंगलबार सभामुख घिमिरेले अर्जुनधारा-११ स्थित बुट्टाबारीबाट सालबारी-चिसापानि हुँदै कालिकास्थान जोड्ने सडकको स्थलगत अवलोकन गर्नुभयो । ४ बर्षअघि २० करोड रुपैयाँमा ठेक्का लागेर कालोपत्रे हुन नसकेर रोकिएको ९ दशमलव २ किलोमिटर लामो सडकको काम अगाडि बढाउने क्रममा सभामुखले सम्बद्ध पक्ष तथा स्थानीयसँग अन्तरक्रिया गर्नुभएको थियो । कार्यक्रममा निर्माण पक्षले आगामी असारसम्ममा निर्माण सम्पन्न हुने जानकारी दिएको थियो ।

सभामुखले आजै मदन भण्डारी राजमार्गको झापाको मेचीनगर र रोङ इलामको सिमा क्षेत्र तिरिङबाट बुद्धशान्ति र अर्जुनधाराको विभिन्न क्षेत्र हुँदै इलामको सुखानी सम्म निर्माण सम्पन्न भएका र हुनबाँकी खण्डको अवलोकलन गर्नुभयो । 

उहाँले अवलोकनका क्रममा स्थानीयसँग अन्तरक्रिया गर्दै सुझाव समेत लिनुभएको थियो । घिमिरेले आयोजना निर्माणको जिम्मा पाएका कम्पनिका प्रतिनिधिहरुलाई समयमानै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

सभामुख घिमिरेले हालको अवस्थामा आयोजनाका लागि बजेट अभाव नभएपनि निर्माण सुस्तता भएकोमा चिन्ता व्यक्त गर्दै प्राविधिक समस्या समाधान गर्न मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने र आवश्यक पहल गर्ने बताउनुभयो ।

घिमिरेले हात्ती आतंक कम गर्न मेचीनगरको उत्तरी क्षेत्रमा जडान गरिएको इलेक्ट्रिक फेन्सिङको समेत अवलोकन गर्नुभएको थियो । उहाँले इलेक्ट्रिक फेन्सिङको उपयोगिता सम्बन्धी जानकारी लिनुभएको थियो । इलेक्ट्रिक फेन्सिङ प्रविधि प्रभावकारी भएको बताउँदै उहाँले प्रभावीत क्षेत्रमा थपविस्तारका लागि पहल गर्ने बताउनुभयो ।

सो क्रममा सभामुखले सुखानी सहिदहरुको सहादत स्थल इलामको माई नगरपालिका-४ मा निर्माण भएको सुखानी सहिद पार्कको अवलोकन गर्नुभएको थियो ।

उहाँले सहिदहरुको स्मारकमा माल्यार्पण समेत गर्नुभयो ।त्यस्तै सभामुख घिमिरेले अर्जुनधारा-८ स्थित रानागाउँ टोपीचौक हुँदै हात्ती किल्लाको कालोपत्रे जोड्ने सडकको अवलोकन गर्नुभएको थियो । 

सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

उहाँ चार दिनका लागि आइतबार झापा आउनु भएको थियो । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सोमबार काठमाडौं पुगेर उहाँ सोही दिन साँझ पुनःझापा फर्कनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
358
सम्बन्धित

लोकप्रिय

लोकप्रिय