बिर्तामोड । झापाको बिर्तामोडमा शनिबारबाट ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१’ सुरु भएको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवको कोशी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री एकराज कार्की उद्घाटन गर्नुभयो ।
नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र नेपाल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन गर्दै मन्त्री कार्कीले सबै जातजातिको धर्म संस्कृतिको जगेर्णा अहिलेको आवश्यकता भएको बताउनुभयो। उहाँले समृद्धिका लागि सबैको संस्कृतिलाई समान ढङ्गले जगेर्ना गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
महोत्सवमा पर्यटन प्रवर्द्धनसँगै चलचित्रको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । सोही अवसरमा पाँच दिने अभिनय कार्यशाला समेत गरिने चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले जानकारी दिनुभयो। महोत्सवकै दौरान मंसीर ९ गते सिक्किम साँस्कृतिक साँझको आयोजना गरिने तामाङले बताउनुभयो । संस्कार-संस्कृति तथा भाषा-कलाको माध्यमबाट दुईदेशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने मुख्य उदेश्यले सिक्किम साँस्कृतिक साँझको आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा सिक्किमका करिब ४ दर्जन कलाकार तथा श्रष्ठाहरुको सहभागिता रहने तामाङले बताउनुभयो ।
उद्घाटन अवसरमा अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक दिपेन धिमाललाई सम्मान गरिएको छ । बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ को उद्घाटनका अवसरमा प्रशिक्षक धिमाल सम्मानित भएका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
महोत्सवमा विभिन्न मनोरञ्जनका खेल, कार्यक्रम रहने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । नेपाल तामाङ घेदुङका अध्यक्ष विजय तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कलाकार प्रेम सुब्बा, चलचित्र निर्माता किशोर सम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो । केवल तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन घेदुङका सचिव गणेश तामाङले गरेका थिए । उद्घाटन समारोहसँगै विभिन्न सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।