झापा । दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जना रिहा भएका छन् । एक जनाले पक्राउ नपर्दै सफाइ पाएका छन् ।
सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै ६ जनालाई सफाइ दिएको हो । पक्राउ परी रिहा हुनेहरूमा प्रदेश सांसद होम थापाका सहोदर भाइ र नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाका सहोदर दाजु बुद्धिमान थापा , एमाले कार्यकर्ता नमकुमार चेम्जोङ , उर्लाबारी– ६ का प्रकाश कार्की , उर्लाबारी– ७ का ध्रुव गौतम, दमक ८ का पूर्व वडा सदस्य तथा नगर खेलकुद विकास समिति दमकका अध्यक्ष भीम चम्लागाई छन् । त्यस्तै सुनसरी इटहरीका डेविड घलेले पक्राउ नपर्दै सफाइ पाएका हुन् ।
हत्याको आरोपमा सङ्खुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, दमक– ३ का राजु भनिने शेरबहादुर नेम्बाङ र एमाले कार्यकर्ता खेम गोपाल भनिने खेमराज भण्डारीमाथि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
प्रहरीले उपलब्ध गराएको मिसिललाई अध्ययन गर्दा बाँकी ६ जनामाथि अभियोजन दर्ता गर्ने प्रमाण नपुगेको सरकारी वकिल कार्यालयका सूचना अधिकारी तथा सहायक जिल्ला न्यायाधिवक्ता तेजबहादुर सिंजाली मगरले बताए । सरकारी वकिल कार्यालयले अभियोजन दर्ता नगरेपछि पाँच जना गएराति नै रिहा भएका छन् ।
मृतक परिवारले ९ जनामाथि जाहेरी दिएका थिए । जाहेरीका आधारमा ती ९ जनालाई पक्राउ पुर्जी जारी भएको थियो । हिजो बिहान पक्राउ परेका प्रदेश सांसद होम थापाका सहोदर भाइ बुद्धिमान थापा हिजै राति रिहा भएका हुन् ।