काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लामिछानेलाई कास्कीबाट बुटवल लैजान लागिएको हो। बुटवल लैजान विहान ५ बजे पोखरा विमानस्थल पुर्याइएका लामिछाने पाँचघण्टादेखि विमानस्थलमै रहेका छन्। उनलाई विहान ७ बजे भैरहवा लैजाने भनिएपनि खराब मौसमका कारण विमान उड्न सकेन।
विहान ८ बजेर १५ मिनेटका लागि सारिएको विमानको उडान तालिका भैरहवा विमानस्थलमा भिजिविलिटी कम हुँदा साँढे १०का लागि सारिएको पोखरा विमानस्थल कार्यालयका प्रवक्ता जसोदा सुवेदीले जानकारी दिइन्।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो। विमानस्थलबाट लामिछानेलाई सिधै भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिने छ। त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिने छ। त्यहाँ लामिछानेको बयान लिने कार्य चल्नेछ। बयान सकिएपछि लामिछानेलाई फेरि पोखरा नै फर्काइनेछ।