चलचित्र समीक्षा : पूर्ण बहादुरको सारङ्गीले बगाएको आसुको कथा

 मुनाराज शेर्मा ।

सानो छँदा सिहँदरवार जलेको कथा

सिहँदरवार भैगयो जलेर खरानी
पानी पनि मटितेल जस्तो बल्यो ह्वारह्वारि…

हरफहरु हामीले घुँडामा हात राखेर सुनेको हो। त्यो कथाले हप्तौं बिरामी भइन्थ्यो ।

गाइने आउँदा गाउँ नै झुम्मिएर घण्टौ बिताएको याद छ। बिस्तारै गीत सङ्गीतको माहौल तौरतरिका प्रचारको माध्यम प्रविधिमा निर्भर भएपछि गाइनेहरु ओझेलमा परे। आज पूर्ण बहादुरको सारङ्गी नेपाली सिनेमाको उच्च ग्राफ बोकेर देशमा बजिरहेको छ। सिनेमा हलमा दर्शकहरू मध्यरातमा सिनेमा हेर्न हल चहार्दै छन। टिकट करिबकरिब चारदिन अघि पाउन मुस्किल छ।

गाइने गन्धर्व जाति चाहिँ लोपोन्मुख छ । पेसा सम्मानको परिवेशमा ग्राफको पिँधमा छ। त्यही दुखिको कथा देशमा घगडान बिकृमा छ। रु ४०० मा खरिद गरेर मानिसहरू घ्वाक घ्वाक रोएर फिर्छन नभए पनि आँसुलाई घाँटिमा अडकाएर अमिलो मन बनाएर डेरा पुग्छन् । रुनलाई एक अफर दिएको छ पूर्ण बहादुरको सारङ्गीले। आँसु रित्तिएको सहरलाई झस्काएको छ सिनेमाले कि तिमिले धेरै समुदायलाई सयौं वर्ष रुवाएर राख्यौ जसले आज तिमिलाई रुवाइरहेको छ।

नेपाली समाजको चालिसको दशकको कथा भनेको सारङ्गीले नेपाली सिनेमाको हाल चल्तीमा निर्माण भैरहेको सांस्कृतिक सिनेमाको कलात्मक सिनेमा निर्माणमा एक शक्तिसाली अध्याय थप गरेको छ। दर्शकलाई अचम्म लाग्न सक्छ समाजबाटै हराइसकेको एक दुईको नोट पूर्णेले दानमा पाउछ। यो सिक्वेन्स कति लोभलाग्दो छ।जतिखेर एकको नोटको शक्तिले समाज अर्थव्यवस्थामा उथलपुथल गर्थ्यो आज त्यो शक्तिहिन छ।

पूर्णेको छोराले आफू गाइनेको छोरा हो भनेर प्रमाणित गर्न अरुको जडौरी बेनापको लुगा लगाएर हिड्नु पर्ने टाल्दा टालोपनि बेरङ्गी लगाएर जडौरी लुगा लगाएको हो भनी विद्यालय जानुपर्ने कति दुखलाग्दो दृश्य छ। अछुत दर्जी समेत गाइनेको मुक्ती चाहदैन। उसले चाहदा निलो पेण्टमा निलो टालो लाउन सक्थ्यो। तर एउटा सत्ता भएर बसेको दमाई पनि गाइने सत्तालाई सहयोगको नाममा खिल्ली उडाइरहन्छ र तमासा हेर्छ। समाज सानो सानो सत्ताको एकमुष्ट रुप हो।

विद्यालय त सबैभन्दा उदार संस्था हो नि तर मिल्क्याएको निलो सर्ट पनि गाइनेको छोराले लाएर हिड्न प्रतिबन्धित गर्छ। स्वात्य स्थानीय अधिकार अबैधरुपमा निर्माण गरेर पूर्णेको छोराको जाडो लाज ढाक्ने निलो कमिज अवैध रुपमा लगाएको आरोप लाएर एउटा अमुक विद्यालयको हेडमास्टरले बीच बाटोमा हुर्मत काढ्दै सर्ट खोल्न लाएर बालबालिकाको बाँच्न पाउँने मौलिक अधिकारको बर्खिलाप गर्छ कसरी बाँचिरहेको होला गाइनेहरु समाजमा हरेक पल अपमानको बीष पिएर । के यसरी हरेकले बाँच्न सकिन्छ एउटा जटिल प्रश्न गरेको छ यो राज्य सत्तालाई। पढन फकाएर लानु पर्नेमा नाथे एउटा निलो पहिरन लाउने अधिकार कसले दियो भनेर प्रश्न गर्छ त्यो राज्यसत्ता एक निरिहमाथी। यो हदैसम्मको नियोजित अपहेलना गरेको छ गाइनेमाथि त्यो शैक्षिक संस्थाले।

बिजय बरालले सिनेमाको चरित्र कबड्डिको शृङ्खलादेखि कहिले दलित हुँदै जारीसम्म कुरुम्बाङ लिम्बुको भुमिकामा दर्शकले स्विकारेको हो। एक अद्भुत अभिनयको क्षमता बोकेको विजय बराल उर्फ पूर्ण बहादुर सारङ्गिमा आएर ब्लगबस्टर भएका छन। आफुलाई केन्द्रमा राखेर सिनेमा डोर्‍याउने क्षमता बिजयले राख्छन् ।

गन्धर्व गाइने हिन्दु मिथको नारद तुम्बुरु सुचित्रसेनका अवशेष हुन।जसले चारवेद बाहेक गन्धर्व वेद निर्माण गरे। सामवेद नै सामगान हो। यसमा पाच स्वर हुन्छ। गन्धर्व वेद उपवेद मध्ये उच्च मानिन्छ। गन्धर्वहरु जो हिन्दु शास्त्रीय सङ्गीत वैदिक सङ्गीत गायक थिए।त्यो गायन देवता र गन्धर्व बाहेकले गाउँन प्रतिबन्ध थियो। त्यो गायन आजको गन्धर्वले निरंतरता दिएका थिए।तर त्यही ईश्वरीय वैदिक शास्त्रीय गायन गर्न भजन चिन्तन गर्ने हिन्दु समाजले भजन गाइरहेका बेला पूर्णेले सारङ्गी बजाउदा निस्कासन गर्दै ढुङ्गे चौतारीमा तल झार्ने बजारिने गरि फ्याकेकोले सदाको लागि स्वर गुमाएको कथा छ।

इतिहासमा पृथ्वी मल्लको शाके १२७९ को दुल्लुअभिलेखमा गायन जातिलाई कर माफी दिएको उल्लेख छ। पृथ्वीनारायण साहको भारदारिमा मनिराम गाइनेको नाम छ। माथवरसिँह थापाको निजि गाइने समेत थियो। जयस्थिती मल्लको अभिलेख समेतमा गायन शब्द रहेको छ। यस्तो ईतिहास बोकेको गन्धर्व समय परिस्थिति र राज्यको अर्घेलो नीतिको कारण प्रगतिको पिँधमा पारियो। शिक्षा चेतनाबाट बन्चित गर्यो सामन्तवादी समाजिक राज्य व्यवस्थाले । उनिहरुलाई अरुको सूचना बाहक मनोरञ्जनको साधन मात्र बनाइयो। अरुले मर्जिमा दिएको दान थापेर बाँच्नुपर्ने आसे जात बनायो। उसले गीत सङ्गीत गाए बापत रकम असुल्ने हक अधिकार जागिर आदि मौलिक हक गन्धर्वलाई दिएन। सधैं गाउन हिड्नु पर्ने हुँदा जग्गा जमिन जोत्ने खेती गर्ने सागसब्जी लाउने पशुपालन गर्ने अन्न फलाउने उत्पादित अन्न पशु धन बजारमा बेच्ने अधिकार मौकाबाट बन्चित भए।त्यो सोच नै आएन।वा अरु कुनै कला सीप सिकेर बुनेर कुँदेर बेचबिखन गर्ने बिनिमय गर्ने अवसरबाट समेत गन्धर्व जाति बिमुख भयो।

गाउँमा बिहे गर्न समेत एउटा गन्धर्वले सारङ्गी बोक्नुपर्ने गाउन बजाउन जान्नु पर्ने अवस्था सृजना भयो नत्र केटाले केटि पाउदैन थ्यो। पहाडे दलित मध्ये गन्धर्व पिँधमा थियो त्यसैले बिश्वकर्माको छोरि जुहारिमा पूर्णे गाइनेले जितेर लादा माइतिले खोलामा कुशको लास बनाएर किरिया गर्यो। यो विभेदको एक हृदय विदारक नमुना हो। जुन कथाले हरेक दर्शकको मन छियाछिया हुन्छ। पूर्णेलाई यहि सभ्यताले गाइने बनायो। हिन्दु शास्त्रले नारद तुम्बुरु विश्वा सुचित्रसेन गन्धर्वहरुले सामवेद गाएर ईश्वरीय चैतन्यको निर्माण गरे त्यहीँ सभयताको पछिल्लो एक सामन्तवादी शिक्षकले समेत मागेर खाने जात भनेर हेपे जो साम्यवादी चिन्तनको बाहक बनेर फेरि गाउँमा क्रान्तिको बिगुल फुक्दै लोकतान्त्रिक व्यवस्था ल्याउन हिडे। तर कहिले पूर्णे गन्धर्वको कलाको सम्मान गरेन शिक्षा प्राप्त गर्न सजिलै स्विकारेन। देशमा भएको विविध लोकतान्त्रिक आन्दोलनले पनि गन्धर्वको निम्ति पूर्ण न्याय नगरेको पक्षलाई सिनेमाले उजागर गरेको छ। यस्तो अपमानित अवस्था देखेर पूर्णेको जीवन सङ्गिनी गाइने हुनुमा अपमानित क्षणको पराकाष्ठा प्राप्त गरेर पूर्णेलाई त्याग्न सफल भएको सिनेमाले भन्छ।बाबूलाई उपचार गर्न सारङ्गी बजाउदै हिड्नुले नेपाली सीमान्तकृत जनताको ज्यानको सानो उपचार समेत गराउन नसकेर कसरी मृत्यु वरण गर्छ भन्ने उदाहरण यति सटिकसँग भन्छ।मरेकै बेला स्वास्नी अर्कैसँग पोइल जानु। कति चोटले भरिएको कथा छ।

पोइल हिडेको भनिएकी तर आफू मात्रै राम्रो जागिर खाएर छोरा पढाउने सपना बोकेकी पूर्णेकी स्वास्निले आफुसँगै लिएर गएको छोरा बाटैबाट भागेपछि आफू यता न उताको भएकी भन्दै रोएको घटनाले महिलाहरुको दारुणिक अवस्थाको भयावह चित्र उतार्छ। छोरा नपढाई नछाड्ने अभिष्ट बोकेको पूर्णेले शिक्षित अभिजात वर्गको मात्रै नभएर आफनै जातिय समुदायको पनि घेराबन्दी तोड्न जीवन भर संघर्ष गरेको कथा भन्छ सिनेमाले। आफ्नो जातिय उत्पिडनलाई जातिय गौरव मानेर गर्व गर्दै दलदलबाट उम्किनु अस्विकार गर्नु त्यो ज्ञान बोकेर मुक्ती गीत बनेर सारङ्गी रेट्दै मुक्तिको मार्ग प्रसस्त गर्नु सिनेमाको खास लक्ष्य हो। छात्रवृत्तिमा डाक्टर पढाउन घर डिकमा राखेर जीवन आहुती दिने पूर्णेको कथाले कसैको पनि आँखा ओभानो राख्दैन।

गन्धर्वको आफनै भाषा र पिङ्गुल स्वरलिपी छ त्यो लिपिमा लेखिएको पुस्तकहरु समेत छन। गन्धर्वको भाषा लोपोन्मुख मात्र नभएर मृत अवस्थामा छ। सिनेमाले गन्धर्वको भाषाको संवाद राख्नु नसक्नु दुखद पक्ष हो। यदि केही विशेष दृश्य मार्फत देखाइएको भए अझ शक्तिशाली हुन्थ्यो। यसो गरेको भए भाषा लिपिको जगेर्ना गर्न यो सिनेमाले एक गर्वलायक महत्व राख्थ्यो।

सिनेमाको छायांकन भक्तपुरको दुवाकोट र ओखलढुंगाको रुम्जाटार रोजेको देखिन्छ जुन ग्रामीण भुगोलले गन्धर्वको पहाडी पिछडिएको दुर्गम स्थल प्रस्तुत गर्न सफल भएको छ यद्यपि गन्धर्वको सांस्कृतिक परम्परित पितृभुमी कास्किको बाटुलेचौर नै रोजेको भए अझ राम्रो हुन्थ्यो।

सरोज पौडेलको कथा र निर्देशकिय भुमिकामा उत्तिसारो आलोचना गर्ने जुक्ती ननिक्लिए पनि कक्षा दश अध्ययनरत पूर्णेको छोरा छिप्पिएको प्रकाश सपुतलाई क्रमिकरुपमा खेलाउनु तेत्ती न्यायसङ्गत देखिएन अर्को अनुहार मिल्नेलाई राखेर एमबिबिएसको कक्षामा मात्र राखेको भए राम्रो हुन्थ्यो। त्यो दृश्य हेर्दा आफैले आफैलाई ढाँटिरहेको हुन्छ। एक असल सिनेमाले दर्शकलाई त्यो मौका दिदैन। हल छोडुँ छोडुँ बनाउँनु हुँदैन लय भत्किन सक्छ।

चिठिको अर्थ थाहा नुहुँदा समाचार सम्प्रेषण नभएर कति अबोध निरीह पूर्णे जस्तो आत्माको अन्जानमै इहलिला समाप्त भयो अक्षरको तागत भन्छ सिनेमाले। एक जमाना चिठिमा टिकेको थियो त्यो समयको कथाको तागत हो यो सिनेमा। निरीह पूर्णेहरु सारा गुमाएर पनि सफलताको परिणाम नसुनी सिद्धिन्छन त्यो अमुर्त दुखको व्यथाले भरिएको छ पूर्ण बहादुरको सारङ्गी जो शदियौको दुख भोगेर बाँचेको गन्धर्वको कथा हो यो सिनेमा।

अरु सिनेमामा हास्य पात्र बुद्धि तामाङको ग्रामीण भरियाको भुमिका सुहाउदिलो भएपनि तामाङ लवजको अभावमा खल्लो लाग्छ। सधैं एउटै भुमिकाको एकै प्रकारको चरित्र रुचिकर नहुन सक्छ बुद्धिले समेत ख्याल गर्नु पर्छ। सरोज पौडेलले सांस्कृतिक सिनेमा निर्माण गर्दा त्यो समुदायको भाषा चाड भुगोल इतिहास संस्कृतिको अझ गहिरो ख्याल गर्नुपर्ने पर्ने हुन्छ। गन्धर्वको चाड नागपन्चमी सरस्वति पूजामा सारङ्गी पुजन गरेर गाउने नाच्ने आफन्त भेटघाट गर्ने हो त्यो आउन सकेन। कर्खा वीरगाथा गाउँने भनेर एक अन्तरा नगाइ सिनेमा सकियो।

सिनेमा आउदा पूर्ण आओस भन्ने हाम्रो चाहना हो। तथापि एउटा राम्रो नेपाली सिनेमा आएकोमा सारङ्गिको टिमलाई बधाई !

प्रतिक्रिया दिनुहोस ।
+1
12
+1
0
+1
8
+1
0
+1
1
835
सम्बन्धित

लोकप्रिय

लोकप्रिय