|
830 SHARES |
सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार गएराति करिब १ बजे हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि श्रेष्ठ घरनजिकै आगो बालेर बसिरहेका थिए । सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । उनका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुंगा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो । पछिल्लो घटनासँगै सप्तरीमा हात्तीको आक्रमणबाट मानवीय क्षति हुने क्रम दोहोरिएको छ ।









