अर्जुनधाराको यू–१७ फुटबलको उपाधि वडा नम्बर ४ लाई



839 SHARES

अर्जुनधारा । झापाको अर्जुनधारामा सम्पन्न प्रथम यू–१७ वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । अर्जुनधारा–३, खुदुनाबारीस्थित प्राकृतिक रङ्गशालामा शुक्रबार भएको फाइनलमा वडा नम्बर ७ लाई १–० गोलअन्तरले पराजित गर्दै वडा नम्बर ४ ले उपाधि उचालेको हो।

प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नम्बर ४ का दिपिन तामाङले गरेको गोल नै निर्णायक बन्यो। उनकै गोलको मद्दतमा वडा नम्बर ४ च्याम्पियन बन्न सफल भएको हो।

विज्ञापन

प्रतियोगिताको अन्तिम सेमिफाइनलमा वडा नम्बर ६ र ९ बीचको खेल विवादित बनेपछि आयोजकले दुवै टोलीलाई प्रतियोगिताबाट निष्कासन गरेको थियो। त्यसपछि वडा नम्बर १ र ४ बीच प्रतिस्पर्धा गराइएकोमा टाइब्रेकरमा जित निकाल्दै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको थियो। यस्तै, वडा नम्बर ७ ले वडा नम्बर ८ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

विज्ञापन

फाइनल खेलमा निर्णायक गोल गरेका वडा नम्बर ४ का दिपिन तामाङ प्लेयर अफ दी म्याच घोषित भए। प्रतियोगितामा वडा नम्बर ४ कै दिवस तामाङ उत्कृष्ट मिडफिल्डर, मनिष थापा उत्कृष्ट डिफेन्डर र अनिष चौधरी उत्कृष्ट गोलरक्षक बने। यस्तै, वडा नम्बर ७ का कैलाश कार्की सर्वाधिक गोलकर्ता तथा सोवित हेमरम प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए।

उपाधिसँगै वडा नम्बर ४ ले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ। उपविजेता वडा नम्बर ७ ले नगद ३१ हजार रुपैयाँ प्राप्त गर्‍यो।

प्रतियोगिताको पहिलो पुरस्कार झापाली समाज कतारले प्रायोजन गरेको थियो। त्यस्तै, दोस्रो पुरस्कार स्थानीय समाजसेवी तथा शिक्षक पदमकन्दङबाले आफ्ना बुबाआमाको स्मृतिमा प्रायोजन गर्नुभएको थियो। स्थानीयस्तरमा युवा फुटबलको विकास र खेलाडीको प्रोत्साहनका लागि गरिएको यस्तो सहयोगले प्रतियोगितालाई थप महत्त्वपूर्ण बनाएको छ।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, वडा नम्बर ३ का अध्यक्ष सीताराम भट्टराई, वडा नम्बर ४ का अध्यक्ष अम्बरबहादुर कटुवाल, वडा नम्बर ७ का अध्यक्ष गोविन्द खतिवडा, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल र आयोजक खुदुनाबारी परोपकार केन्द्रका अध्यक्ष लिलाबल्लभ खतिवडालगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको फाइनल खेल अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय