|
919 SHARES |
काठमाडौं । मलेसियामा लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परी मृत्युदण्डको सजाय सुनाइएका नुवाकोट बर्सुन्चेत–१ का हरि बहादुर घले २४ वर्षपछि स्वदेश फर्किएका छन्। लामो कानुनी संघर्षपछि रिहाइ भए पनि नेपाल फर्कन हवाई टिकटको समस्या भएपछि मलेसियामा रहेका एक नेपाली व्यवसायीको सहयोगमा उनी स्वदेश फर्कन सफल भएका हुन्।
घलेलाई नेपाल फर्काउन आवश्यक हवाई टिकट मलेसियामा व्यवसाय गर्दै आएका तथा आरटिएफसी फुटबल क्लबका अध्यक्ष राजु तामाङले उपलब्ध गराएका हुन्। घलेको अवस्थाबारे जानकारी पाएपछि तामाङले सेप्टेम्बर २४ तारिखका लागि बाटिक एयरको हवाई टिकटको व्यवस्था गरिदिएका थिए। टिकट पाएपछि घले लामो समयपछि परिवारसँग पुनर्मिलनका लागि नेपाल फर्कन सकेका हुन्।
सन् २००३ मे ३० मा मलेसियाको क्वालालम्पुरस्थित एक होटलबाट पक्राउ परेका घलेमाथि लागुऔषध कारोबारको अभियोग लागेको थियो। मलेसियाली प्रहरीले उनको साथबाट ८७५ ग्राम हेरोइन बरामद भएको दाबी गरेको थियो। तर घलेले भने उक्त लागुऔषध आफ्नो नभएको र अर्का नेपाली नागरिक गणेश तामाङको भएको दाबी गर्दै आएका थिए।
मलेसियाको उच्च अदालतले सन् २००९ मा घलेलाई मृत्युदण्डको फैसला सुनाएको थियो। त्यसविरुद्ध गरिएको अपिलमा सर्वोच्च अदालतले समेत सन् २०१२ मा उच्च अदालतको फैसला सदर गरेपछि उनी लामो समय मृत्युदण्डको जोखिममा जेल जीवन बिताउन बाध्य भएका थिए।
घलेको जीवनरक्षाका लागि नेपालमा परिवार तथा विभिन्न सरोकारवाला निकायले लामो समयदेखि पहल गर्दै आएका थिए। नेपाल सरकारले पनि मलेसिया सरकारसँग कूटनीतिक पहल गरेको थियो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले समेत घलेको जीवनरक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
घलेको परिवारले उनको रिहाइ तथा जीवनरक्षाका लागि सार्वजनिक अपिलसमेत गरेको थियो। एम्नेस्टी इन्टरनेसनल नेपालले पनि घलेको परिवारसँग सहकार्य गर्दै मृत्युदण्डविरुद्ध अभियान चलाएको अभिलेखमा उल्लेख छ।
पछि घलेको मृत्युदण्डको सजाय परिवर्तन गरी जेल सजायमा परिणत गरिएको थियो। लामो कानुनी प्रक्रियापछि उनी डिटेन्सन सेन्टरमा रहेका थिए।
२४ वर्षसम्म जेल तथा हिरासतमा बिताएपछि स्वदेश फर्कने अन्तिम चरणमा हवाई टिकट नै समस्या बनेको थियो। त्यही अवस्थामा तामाङले टिकटको व्यवस्था गरिदिएपछि घले नेपाल फर्कन सफल भएका हुन्।
घलेलाई स्वदेश फर्काउन हवाई टिकट उपलब्ध गराएर सहयोग गरेको भन्दै परिवार तथा आफन्तले व्यवसायी एवं आरटिएफसी फुटबल क्लबका अध्यक्ष राजु तामाङप्रति आभार व्यक्त गरेका छन्। लामो समयदेखि मलेसियामा कानुनी प्रक्रियामा अल्झिएका घलेको स्वदेश फिर्तीमा उक्त सहयोग महत्वपूर्ण बनेको परिवारको भनाइ छ।










