|
1,101 SHARES |
झापा। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ।
हाल बागमती प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराईका अधिकांश भूभागमा मौसम सफा रहे पनि केही स्थानमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुनसक्ने जनाइएको छ।
राति कोशी प्रदेशका थोरै स्थानमा, बागमती प्रदेशको पहाडी तथा तराई भूभाग र गण्डकी तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने महाशाखाले चेतावनी दिएको छ।
भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।










