काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट क्षतिग्रस्त खानेपानी आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको विभागले जनाएको छ । ती आयोजनामा मात्रै चार करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच र रसुवाका आठ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ ।










