|
681 SHARES |
विराटनगर । विराटनगरमा जारी ५९औँ राधाकृष्ण रथयात्राका क्रममा अवाञ्छित, उच्छृङ्खल तथा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ।
हजारौँ भक्तजन सहभागी रथयात्राको भिडभाडको मौका छोपेर चोरी, पाकेटमारी तथा अन्य अवाञ्छित गतिविधि गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ। रथयात्रा अझै जारी रहेकाले पक्राउ पर्नेहरूको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले रथयात्राको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको बताए। भिडभाडमा हुन सक्ने चोरी, पाकेटमारी, उच्छृङ्खल तथा शंकास्पद गतिविधि नियन्त्रणसँगै मानिस हराउने र सम्भावित दुर्घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।










