|
6,962 SHARES |
आक्को हाउ!
सभ्यताकै सफाइमा निरन्तर जुटिरहने
साङ्ले चित एक महान ज्यामी
हुकिन धोइरहन्छ मरान धोइरहन्छ
उसलाई पिटिक्कै मन पर्दैन फोहोर
जो यो खामबेकको निर्माण पछि बत्तिस करोड वर्ष अघि
जन्मिएको हो साङ्ले जो जिउनै साङ्ली जस्तो छ
जतिखेर साङ्लेको महायुग थियो पृथ्वीभरि
कुनै याकथुङ्ले देखेर बहुरङ दियो नाम सित चित चित्ला उभोँ पान्थर छथरतिर
दुलो चेपचापमा खप्टिएर बस्ने किरा भनेर खम्बुले कापचिङ्गमा खापटिङ्गमा चाकचिङ्गमा भने
स्पेनिस किरा ककराचा अङ्ग्रेजले बोल्नै नजानेर बदल्यो कक्रोच कुखुरा माछा
र घुम्यो संसार खदङ्दङ
हेक्याङ!!!
उ जन्मिदा सामन्य लेउ काइ झ्याउ समुन्द्रबाट
जमिनको अनन्त यात्रामा थियो
एल्गिको बढेमान च्यादर ओडेर यो खाम्बेकमा चित्ला मस्त हाकपारे गाइरहेको थियो
पोखरीको डिलैमा भेटेर भुईसोरी गरेका होइनन् उनीहरुले
उ तेसैको ओछ्यानमा चबाउँदै निदाउँदै बुर्किसी मार्दै हुर्ले बकन्दे गाउँदै तरेबा झैँ कसरी बाँच्यो पत्तै पाएन एल्गिको मेजमानमा
घरी सयफिट अग्लो उनिउको रुख चढेर कुलुलुलु गर्दै
चील जत्रो मेगानेउरा घामकिरा हेर्दै
मेन्छ्यालाई म्वाँई खाँदै
छिरिजान्थ्यो एल्गिको जालोभित्र तरुनिसँग
कहिले मुस्किलले जोगिन्थ्यो
मान्द्रो जत्रो अजङ्गको खजुरो आर्थ्रोप्ल्युराबाट
तीन बोतल माङदकको सिजँवाले भन्दा धेरै मात्थ्यो तरेमासितको बियोगले
कहिले सहादत हुन्थ्यो हाउ दस फिटे उभयचरबाट
चित्लाको दरसन्तान हिन्जाहा
आल्ल होने!!!
उसैको फोहोर प्रसोधनमा लेउ काई झ्याउ अग्लिदै हिमाल छोयो
तेतिखेरै देखेको हो फक्ताङ्लुङ सेन्छेलुङ उँधो बगिगैजाने इम्बिरी याङधावाँ सुसुबेन लालाबेन मुजिङना खेयोङ्ना
साल्पा सिलिचुङ पारुहाङ सुम्निमा
तेतैबाट उनिउकै च्याब्रुङ बजाउँदै तल
इम्बिरी झर्दै गरेको मनाहा
उनिउको मुन्टा टिपेर साम्याङ फुङ बनायो
हाकपारे गाउँदा गाउँदै उनिउको बोट लत्रेर नुहियो
त्यही भेटेको हो तरेमा सोल्टिनी र अर्पण गरेको हो
युप्पालुङ
ओरिल्लो !
उन्छेन !उन्छेन !!
रुखको बाउलाभित्र घुम्दै इजारभित्र छिर्थो चित्ला
बढेमान उनिउको अपुष्पक रुखहरु बीच भिमकाय डाइनोसरस घुम्दै हिडेको उसैले देख्यो
रुखैको सुरुवालको उध्रेको दुलोभित्र लुकेर
तेति भयङ्कर जीवको मलको थुप्रोभित्र अट्टहासले निचोरिएर
कसरी ह्वारह्वार्ति फैलिए होला साङ्ले चित
एउटा आँधि जस्तो सारा पृथ्वी साङ्लेको सङ्गीतले कति भयानक देखियो होला
तेतिखेर साशक डाइनोसरसलाई सताएर हैरान पार्ने
लमात्रै त थियो होला साङ्ले एक मात्रै विपक्षि
जो चित्ला माटो मुनि लुक्ने आदिम खामबोङ्बा माटोप्रेमी थियो
जसले भयानक कुल्चाई सह्यो डाइनोसरस समयको
कानमा नाकमा छिरेर कति हैरान पार्दै बदला लियो होला
चित्लाले
आरिन्ने !!!
हेक्याङ!!!
पत्थरकै चेपमा माटोकै छातिमा निदाएर बाँचिरह्यो
पृथ्वीकै कठिन हिमयुगभरी
पत्थरको सन्तान लुङ्बोङ्बा चित
सभ्यताको बिहान सुरु भएदेखि
पत्थरको चेप चेप छिरेर फोहोरको चाङभित्र लुकेर बचाई रह्यो साङ्लेले आफुलाई
उसँगै जन्मिएका सारा सरिसृप पंक्षी उभयचर साशकहरुबाट जोगिन
सारा पुस्ता मल्लयुद्धमा होम्दा होम्दै सुरुङ युद्धमा गुजार्दा गुजार्दै प्यालेस्टाइन योद्धा ठान्यो आफुलाई
चे ग्वेभरा मावो होची मिन्ह सिरिजङघा काङसोरे रत्न कुमार बनायो आफुलाई
चेपचाप अँध्यारो दुलोमा अभ्यस्त बनायो जीनलाई
एउटा हठ उठाएर जीवनको रगतबाटै हेमोग्लोबिन झिकेर
पृथ्वीकै रातो रगत विरुद्ध बिद्रोह गर्यो साङ्लेले
उ रगतको साइनोको महाकायपलटमा उर्लियो
रगत हुँदैमा समानता भ्रम हो त्यो देखावटी हो साङ्लेले प्रमाणित गर्यो
मेम्बी हाउ!!!
खेप्सेम्मो!!
शरिरमै छिद्रहरु निर्माण गरेर उर्जा संचिति गर्यो
आफुमा एक छुट्टै स्वचालित अभ्यस्त सिद्धान्त बनायो
सारा साशक जीव र मानवको बिरुद्ध बाँच्ने अभियान छेँड्यो
पृथ्वीभरी नै साङ्ले विनास सेप्मा अभियानमा
उ यसरी छल्दै बाँच्यो पानीमा चालीस मिनट अधिक बाँच्यो झिकेर आफ्नै शरीरको पानी
उसको शिर छेदन गरियो तथापि उर्जा होइन्जेल नौ दिन उँभो बाँचिरह्यो
मानिसहरूले गुहुमा डुबाए
रातो चिप्लो छालाको विकासले सग्लो सफा बाँच्यो
र यति शक्तिशाली एन्टिबायोटिक निर्माण गर्यो मष्तिष्कमा
जो देखेर अचम्मित छ विज्ञान नै
नियतिनै भागी भागी लुकि लुकि जिउनु थियो करोडौं वर्ष
त्यसोर सर्वभोगी चित्ला फोहोर पचाएरै बाँच्यो
जोगाउन प्रजाती बनायो कडा खोलको ओथेगा जहाँ डिम्बहरु सुरक्षित राख्यो
जहिले असुरक्षित एक्लै भैजाने भएरै बाउ बेगरै आमाले
सन्तान जन्माउन सक्ने बैँस र मातृत्व निर्माण गर्यो
यति सम्मकि हिरोसिमा नागासाकीमा छरिएको परमाणु विकिरणमा
चेपचाप बाटै बाँचेर देखायो
फेरि फोहोरको रासबाट प्रकृति ब्यूँझाएर निर्माण गर्यो हिरोसिमा नागासाकीको जीवन
अब त सारा फोहोर कसिङ्गर भाइरस उसँगै पो डराएर बाँचचिरहेछ उल्टै
हाउ सारिक केआम्बान रैछ! मेम्बी?
निवा तुकलो तेङ्ब्से!!!
उसलाई कहाँ नलागेको हो पुतली जस्तो उडेर फुलमा बस्न
घुम्दै घुम्दै हावाको झोँका चुम्दै पातहरुमा खेल्न
नदि किनार रम्न
मानिसहरूको पृय बन्न
आफू नै प्रकृतिको असल कुचिकार हो उदघोष गर्न
कुनै प्रेमको भव्य गीत बनेर उडान भर्न
आल्ल!!!
एकआदिम पृथ्वीवासी आफ्नो भव्य पखेटाको उडान थाती राखेर
माटोको सफाइमा युग युग पुस्ता पुस्ता बितायो
शत्रु छल्दै उज्यालोलाई विश्राम दियो
उ हेरिरहेछ आफ्नो मृत्यूको विज्ञापन मानिससँगै कतै चेपबाट
निर्भयसँग चुमेर फर्किन्छ बायोगनको डिब्बा
खेप्सेम्मो!!!
ठिक नरसंहार अघि यहुदीहरुलाई हिटलरले किरा साङ्ले भने
हुबहु त्यसरी नै हुतिहरुले तुतिहरुलाई कक्रोच भनेर नरसंहार गरे
अहिले छिमेकमा सत्तासिनले प्रश्न गर्नेहरुमाथि कक्रोच किरा मकौडा गट्टर फोहोरी भनिरहेका छन्
तर चित्लाले सत्ता फोहोरमा निदाएको देखेर फोहोर हो भनिरहेका छन्
कम बेला ग!!!
त्यसपछि त इन्स्टाग्राम फेसबुक टिकटोक कक्रोचले भरियो
चित्ला जन्तर बोकेर मन्त्र जप्दै सारा देश भरियो
कसरी मर्ला र कक्रोच जो बत्तिस करोड अघि जन्मिएर सफाइमा छ
जो पाँच हिमयुग पूरा निदाएर ओथेगामा बाँच्यो
परमाणु विकिरण पचाएर बाँच्यो
पृथ्वी नै चबाउँदै सफाई गरिरहेको कक्रोच
बस सत्ताको फोहोर चबाएर सिद्ध्याई बाँच्नु छ
कक्रोचले यो पूरा ब्रह्माण्ड भरी
जो अहिले सरकारको ब्राण्डेड सुरुवालमा छिरेर
सरकार छुटकाराको लागि इजार खोल्न उफृदै छ!!!
कम्भ्याक ल आइङ्ग आरिन्ने!!! चुरा!!!










