|
677 SHARES |
बिर्तामोड। देवभूमि विद्यापीठ अंग्रेजी माध्यमिक विद्यालय, अर्जुनधाराका संस्थापक प्रिन्सिपल तथा प्याब्सन झापाका कार्यसमिति सदस्य सुमन शर्मा जमरकट्टेलको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै झापाका निजी विद्यालयमा शुक्रबार शोक बिदा दिइने भएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै साउन ८ गते शुक्रबार जिल्लाभरका कक्षा नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालन हुने सम्पूर्ण निजी विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको जनाएको छ।
प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीद्वारा जारी विज्ञप्तिमा जमरकट्टेलले प्याब्सन झापाको संगठन निर्माण र सुदृढीकरणमा पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरिएको छ। उनी हाल जिल्ला कार्यसमितिको लगातार तेस्रो कार्यकालका बहालवाला सदस्यका रूपमा कार्यरत थिए।
विज्ञप्तिमा उनको असामयिक निधनले सिङ्गो प्याब्सन परिवार स्तब्ध र मर्माहत बनेको जनाउँदै स्वर्गीय जमरकट्टेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
यस्तै, इक्यान झापाले पनि स्वर्गीय जमरकट्टेलप्रति सम्मान व्यक्त गर्दै शुक्रबार जिल्लाभरका शैक्षिक परामर्श संस्थाहरू बन्द रहने जनाएको छ।
जमरकट्टेल इक्यान झापाका संस्थापक अध्यक्षसमेत रहेका थिए। शिक्षा क्षेत्रसँगै सामाजिक गतिविधिमा पनि सक्रिय उनको निधनले झापाको शैक्षिक क्षेत्रले एक समर्पित व्यक्तित्व गुमाएको प्रतिक्रिया सरोकारवालाहरूले दिएका छन्।










