बीपी प्रतिष्ठान परिसरका ३५ औषधी पसल सिलबन्दी



1,128 SHARES

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालनमा रहेका ३५ वटा औषधी पसललाई विभिन्न कानुनी कमजोरी भेटिएपछि सिलबन्दी गरिएको छ।

इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधी व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गत असार अन्तिम सातादेखि प्रतिष्ठान परिसरका औषधी पसलहरूको अनुगमन सुरु गरेको थियो।

विज्ञापन

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार सोमबारसम्म गरिएको अनुगमनका क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा नगरेका ३५ वटा औषधी पसलमाथि सिलबन्दीको कारबाही गरिएको हो।

विज्ञापन

अनुगमनका क्रममा आवश्यक कानुनी कागजात नभएका, अन्य व्यक्तिको नाममा व्यवसाय सञ्चालन भएका, दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेका, व्यवसाय नवीकरण नगरेका, अनुगमन टोली आउने जानकारी पाएपछि पसल बन्द गरी सम्पर्कविहीन भएका तथा अनुगमनमा असहयोग गरेका औषधी पसलमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

सिलबन्दी गरिएका पसलका सञ्चालकलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजातको अध्ययनपछि प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।

गत महिना प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि जिल्ला प्रशासनले औषधी पसलहरूको अनुगमनलाई थप कडाइ गरेको हो।

प्रशासनले प्रतिष्ठान परिसरमा सञ्चालन हुने सबै औषधी पसललाई कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय